चितवन । नेकपा एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियु चितवनले ६ घण्टाभित्र भारतीय टेलिभिजनहरु बन्द गर्न अल्टिमेटम दिएपछि शनिबार साँझ ७ बजेबाट भारतका हिन्दी च्यानलहरु बन्द भएका छन् ।
भारतले अनावश्यक रुपमा नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरी अघोषितरुपमा नाकाबन्दी गरेकाले अखिलले भारतीय टेलिभिजनहरु प्रशारणमा रोक लगाउन चित्रवन युनिक केबुल प्रालिलाई शनिबार अनेरास्ववियुले ज्ञापनपत्र बुझाएको थियो ।
अनेरास्ववियु चितवनका अध्यक्ष देवप्रसाद पाठकको नेतृत्वमा गएको टोलीले चितवनको चित्रवन युनिक केवल टेलिभिजन र सीम टिभीमा ज्ञापनपत्र बुझाउँदै हिन्दी च्यानल बन्द गराउन माग गरेको थियो ।
युनिक केबुलका पूर्वअध्यक्ष महेन्द्र प्रधानले देशको विषम परिस्थितिमा विभिन्न संघसंस्थाबाट भारतीय च्यानलहरु बन्द गर्न आएको मागलाई मध्येनजर गर्दै अर्को सूचना जारी नभएसम्म हिन्दी च्यानलहरु बन्द गरिएको बताए । उनले अन्य टिभी प्रालिहरुले हिन्दी च्यानलहरु खोले आफूले पनि खोल्न बाध्य हुने जानकारी दिएका थिए ।
केबुल सञ्चालकहरुले केन्द्रीय तहबाट नै भारतीय टेलिभिजन प्रसारणमा रोक लगाउनुपर्ने माग पनि गरेका छन् ।
प्रतिक्रिया