मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

उपप्रधानमन्त्री सिंह न्यूयोर्क प्रस्थान

उपप्रधानमन्त्री सिंह न्यूयोर्क प्रस्थान


काठमाडौँ । उपप्रधानमन्त्री प्रकाशमान सिंहले नेपालले संयुक्त राष्ट्र सङ्घको ७० औँ महासभामा संविधानसभाबाट संविधान जारी भई कार्यान्वयनमा आएको तथा भूकम्पपछिको पुनःनिर्माणका विषयमा अन्तर्राष्ट्रिय समुदायसमक्ष छलफल गर्ने बताउनुभएको छ ।

महासभामा भाग लिन न्युयोर्क प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बेलुका पत्रकारसँग कुराकानी गर्दै उहाँले आफू न्युयोर्कमा रहँदा छिमेकी एवम् मित्र राष्ट्रका समकक्षीसँग देशको समसामयिक राजनीतिक विषय र आपसी हित र चासोका बारेमा छलफल हुने जानकारी दिनुभयो ।

प्रधानमन्त्री सुशील कोइरालाको कार्यव्यस्तताका कारण आफू महासभामा भाग लिन जान लागेको उल्लेख गर्दै उपप्रधानमन्त्री सिंहले राष्ट्रसङ्घ स्थापनाको ७०आँै वार्षिकोत्सव र नेपाल राष्ट्र सङ्घको सदस्य भएको ६० वर्ष पुगेका बेला हुने महासभामा नेपालको सहभागिता महत्वपूर्ण विश्वास व्यक्त गर्नुभयो ।

यसअघि उक्त महासभामा भाग लिन परराष्ट्रमन्त्रीसहितको टोली आजै त्यसतर्फ गएको छ । यही असोज १४ गते उपप्रधानमन्त्री सिंहले सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । असोज ११ देखि १८ गतेसम्म राष्ट्रसङ्घको ७०औँ महासभा हुँदैछ ।

महासभाकै क्रममा अमेरिकी राष्ट्रपति बाराक ओवामा र राष्ट्र सङ्घका महासचिव वान कि–मुनले आयोजना गर्ने ‘विश्वमा द्वन्द्वरत मुलुकमा शान्ति स्थापनार्थ सेना खटाउने मुलुक सम्मिलित उच्चस्तरीय शान्ति सम्मेलन’मा तथा ‘सन् २०१५ पछिको विकास रूपरेखासम्बन्धी दक्षिण–दक्षिण सहयोग उच्चस्तरीय गोलमेच’ कार्यक्रममा पनि नेपालको सहभागिता रहनेछ ।

त्यस्तै चीनका राष्ट्रपति सि जिन पिङ र युएन वुमनले आयोजना गर्ने ‘लैङ्गिक समानता तथा महिला सशक्तीकरणःकार्यान्वयनमा प्रतिबद्धता’सम्बन्धी विश्वका नेतासँगको बैठकमा नेपालका तर्फबाट सहभागिता हुने बताइएको छ । महासभाका क्रममा न्युयोर्कमा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क) सदस्य राष्ट्रका परराष्ट्रमन्त्रीको बैठक पनि आयोजना हुनेछ । रासस

यो पनि पढ्नु  होला >>