मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पूर्वको आमहड्ताल तथा बन्दका कार्यक्रम फिर्ता

पूर्वको आमहड्ताल तथा बन्दका कार्यक्रम फिर्ता


ताप्लेजुङ । आन्दोलनकारी र प्रमुख तीन दलबीच सहमतिपछि आइतबारदेखि जारी पूर्वका नौ जिल्लाको आमहड्ताल तथा बन्दका कार्यक्रम फिर्ता भएको छ ।

झापामा भएको वार्तामा आन्दोलनकारी सङ्घीय लिम्बूवान पार्टी नेपालसहितका आन्दोलनरत पक्ष र प्रमुख तीन दलबीच सहमति भएपछि बन्दका कार्यक्रम फिर्ता भएको हो ।

सहमतिपत्रमा लिम्बूवान पार्टी नेपालका तर्फबाट सङ्घीय लिम्बूवान् पार्टीका सचिव छवि सम्बाहाम्फेलगायतले तथा तीन दलका तर्फबाट सांसद दीपक कार्की, महीन्द्रकुमार सुब्बालगायत अन्य स्थानीय नेताले हस्ताक्षर गर्नुभएको छ ।

वार्तामा बन्दका क्रममा पक्राउ परेका आफ्ना कार्यक्रता रिहाइका लागि पहल गरिने, दमकमा लिम्बूवानको कार्यलयमा भएको तोडफोडको घटनाको तीन दलले नैतिक जिम्मेवारी लिई क्षतिपूर्तिका लागि सरकारसँग पहल गरिनेलगायत सहमतिपछि बन्द हड्तालका कार्यक्रम फिर्ता लिइएको सङ्घीय लिम्बूवानका केन्द्रीय सचिवालय सदस्य सुरेन्द्रप्रकाश जवेगुले बताउनुभयो ।

बन्दका कारण सर्वसाधरण मारमा परेको भन्दै स्थानीयवासीले बन्द खुलाउन आग्रह गरेपछि ताप्लेजुङमा भने बिहानैदेखि बजार पसल खुलाउने लिम्बूूवान र उद्योग वाणिज्य सङ्घबीच सहमति भएको थियो । अन्य जिल्लामा समेत स्थानीयवासीले बन्दको प्रतिकार गर्दै बजार पसल खुलाएका थिए ।

सहमतिसँगै आइतबारदेखि ठप्प बनेका लामो तथा छोटा दूरीका सवारीसाधन सञ्चालनमा आएका छन् भने जिल्लाका सदरमुकाममा चहलपहल बढेको छ । लिम्बूवानबिनाको संविधान घोषणा गरिएको भन्दै विरोधमा उत्रिएका लिम्बूवान सङ्घर्ष समिति र सङ्घीय लिम्बूवानले गत आइतबारदेखि पूर्वका नौ जिल्लामा अनिश्चितकालीन बन्दको आह्वान गरेका थिए । रासस