मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नयाँ संविधानले सबै नेपालीको आकाङ्क्षालाई समेटेको छ–अर्थमन्त्री

नयाँ संविधानले सबै नेपालीको आकाङ्क्षालाई समेटेको छ–अर्थमन्त्री


बागलुङ। अर्थमन्त्री डा रामशरण महतले नेपालले उत्कृष्ट संविधान पाएको बताउनुभएको छ ।

चीन–भारत जोड्ने कालीगण्डकी करिडोरको अवलोकनपछि बलेवामा आयोजित कार्यक्रममा उहाँले “समावेशिताको दृष्टिकोणबाट विश्वमै हाम्रो संविधान उत्कृष्ट छ, सबै जनता अधिकार सम्पन्न भएका छन्” भन्नुभयो ।

संविधानले सबै नागरिकका सामाजिक, आर्थिक अधिकारलाई पनि सुनिश्चित गरेको उहाँको भनाइ थियो । मन्त्री डा महतले मधेसमा चलेको आन्दोलन रोकी वार्ताका माध्यमबाट समाधान खोजिनुपर्ने धारणा राख्नु भयो ।

संविधानको कार्यान्वयनसँग मुलुकलाई आर्थिक समृद्धितर्फ लैजानुपर्ने बताउँदै मन्त्री डा महतले पूर्वाधार विकास नै सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्नु भयो ।

नेपाली सेनाले जिम्मा लिएको करिडोरको बागलुङ खण्डमा पर्ने मालढुङ्गा–टाकुरी सडकको अनुगमनका लागि मन्त्री डा महतसहितको टोली बागलुङ आएको हो ।

त्यस्तै अर्थमन्त्री डा महतले बन्द, हड्ताल र तोडफोडले देशलाई गरिबी र दरिद्रताको बाटामा लैजाने हुनाले त्यस्ता प्रतिगमनकारी काम छोडेर संवाद र वार्तामा आउनुपर्नेमा जोड दियो ।

पोखराको पृथ्वीचोकमा नागरिक लगानी कोष शाखा कार्यालयको आज शुभारम्भ गर्दै उहाँले केही मधेसवादी नेताको निहीत स्वार्थका कारण लामो समयदेखि भएको मधेस बन्दले मधेसी जनताले नै धेरै दुःख पाएकाले त्यस्ता हिंसात्मक गतिविधि छोड्नसमेत आग्रह गर्नुभयो ।

सङ्घीयता, समावेशी र सीमान्तकृत जस्ता माग नयाँ संविधानमा सम्बोधन भइसकेको उल्लेख गर्दै उहाँले यी विषयवस्तु संविधानमा समावेश भएन भनेर आन्दोलन गर्नुको कुनै तुक नभएको बताउनुभयो ।

अर्थमन्त्री महतले कोषको बचतलाई उत्पादनशील, पूर्वाधार विकास र जलविद्युत् क्षेत्रका विकासमा लगानी गर्नसमेत आग्रह गर्नुभयो ।

कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेलले नागरिक लगानी कोषमा हाल पाँच लाख ६५ हजार बचतकर्ता भएको जानकारी दिँदै कोष अब बचत परिचालन, लगानी प्रवद्र्धन र पुँजी बजार विस्तारको सेवामा केन्द्रित रहने जानकारी दिनुभयो ।

कोषका सञ्चालक तथा अर्थ मन्त्रालयका सहसचिव सूर्यप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मन्त्री डा महतले सोही अवसरमा सूचना प्रविधि एसएमएस सेवाको शुभारम्भ गर्नुका साथै ‘दीर्घकालीन रणनीतिक योजना’ पुस्तकको पनि विमोचन गर्नु भएको थियो । रासस