मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रधानमन्त्री कोइराला बुधबार न्युयोर्क प्रस्थान गर्दै

प्रधानमन्त्री कोइराला बुधबार न्युयोर्क प्रस्थान गर्दै


काठमाडौँ । प्रधानमन्त्री सुशील कोइराला संयुक्त राष्ट्रसङ्घको ७०औँ महासभामा भाग लिन १८ सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै भोलि बुधबार न्युयोर्क प्रस्थान गर्दैछन् । 
 
प्रधानमन्त्री कोइरालाले महासभालाई यही असोज १४ गते सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । असोज ११ देखि १८ गतेसम्म हुने संयुक्त राष्ट्रसङ्घको ७०औँ महासभालाई सदस्य राष्ट्रका सरकार एवम् राष्ट्र प्रमुखले सम्बोधन गर्ने छन् । प्रधानमन्त्री कोइरालाबाट संयुक्त राष्ट्रको महासभालाई सम्बोधन हुन लागेको यो दोस्रोपटक हो । उनले यसअघिको ६९औँ महासभालाई सम्बोधन गरेका थिए । 
 
संयुक्त राष्ट्रसङ्घमा विश्वका १९२ मुलुक सदस्य रहेका छन् भने दुई मुलुक होलिसी भ्याटिकन सिटी र प्यालेस्टाइन स्टेटले पर्यवेक्षकको मान्यता पाएका छन् । नेपाल संयुक्त राष्ट्रसङ्घमा सन् १९५५ को डिसेम्बर १४ मा सदस्य बनेको हो । यस वर्ष राष्ट्रसङ्घ स्थापनाको ७० वर्ष पुगेको छ भने नेपालले राष्ट्रसङ्घमा प्रवेश पाएको ६०औँ वर्ष गाँठ मनाउँदै छ ।
 
प्रधानमन्त्री कोइरालाले महासभामा सम्बोधन गर्नुअघि असोज ८ देखि १० गतेसम्ममा आयोजना हुने सन् २०१५ पछिको विकास लक्ष्य घोषणा गरी पारित गर्ने राष्ट्रसङ्घीय शिखर सम्मेलनमा भाग लिँदैछन् । 
महासभाकै क्रममा अमेरिकी राष्ट्रपति वाराक ओवामा र संयुक्त राष्ट्रसङ्घका महासचिव वान कि मुनले विश्वमा द्वन्द्वरत मुलुकमा शान्ति स्थापनार्थ सेना खटाउने मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुख सम्मिलित उच्चस्तरीय शान्ति सम्मेलनमा पनि प्रधानमन्त्री कोइराला सहभागी हुनेछन् । 
 
नेपाल शान्ति सैनिक खटाउने मुलुकको कोटीमा छैटाँ स्थानमा रहेको छ । नेपालले हालसम्म शान्ति स्थापनार्थ एक लाख बढी सैनिक खटाई संयुक्त राष्ट्रसङ्घको शान्ति कार्यमा योगदान पु¥याइसकेको छ ।
 
चीनका राष्ट्रपति सि जिनपिङ्ग र युएन वुमनले आयोजना गर्ने ‘लैङ्गिक समानता तथा महिला सशक्तीकरणः कार्यान्वयनमा प्रतिबद्धता’सम्बन्धी विश्वका नेतासँगको बैठकमा पनि प्रधानमन्त्री कोइरालाले भाग लिनेछन् । 
 
त्यस्तै चीनका राष्ट्रपति सि जिनपिङ्ग र महासचिव वानले आयोजना गर्ने ‘सन् २०१५ पछिको विकास रुपरेखासम्बन्धी दक्षिण–दक्षिण सहयोग उच्चस्तरीय गोलमेच’ कार्यक्रममा पनि प्रधानमन्त्री कोइरालाको सहभागिता रहने छ । 
 
नेपालले जनवायु परिवर्तन, आतङ्कवाद र अल्पविकसित तथा भूपरिवेष्ठित मुलुकका मुद्दालाई प्राथमिकताका साथ उठाउँदै आएको छ । महासभाका क्रममा न्युयोर्कमा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क) सदस्य राष्ट्रका परराष्ट्र मन्त्रीको बैठक आयोजना हुने परराष्ट्र मन्त्रालयबाट थाहा भएको छ । नेपालले १८औँ शिखर सम्मेलनपछि सार्कको अध्यक्षता गरिरहेको छ ।  
 
यसैबीच संयुक्त राष्ट्रसङ्घ स्थापनाको ७०आँै वर्षगाँठ र नेपाल राष्ट्रसङ्घको सदस्य भएको ६० वर्ष पुगेका बेला हुने यसपटकको महासभामा नेपालको सहभागिता मह¤वपूर्ण रहने परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले जानकारी दिए । 
 
उनले भने, ‘नयाँ संविधानको घोषणा, शासन व्यवस्थाको स्वरुप, राजनीतिक प्रणाली, जनताले आन्दोलनमार्फत हासिल गरेका उपलब्धि, शान्ति प्रक्रियालाई अन्त्य गरेर समृद्धिको बाटोका लागि कोरिएको मार्गचित्रबारे सभामार्फत अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराइने छ ।’
 
गत वैशाख महिनामा भएको भूकम्पबाट भएको जनधनको क्षति, पाँच वर्षभित्र पूरा गर्ने पुनःनिर्माण र नवनिर्माणसम्बन्धी कार्ययोजना विश्व समुदायलाई जानकारी गराउने र त्यससम्बन्धमा सबैको सुझाव, सहयोग, सदिच्छा र शुभकामना बोकेर आउने परराष्ट्र मन्त्री पाण्डेले जानकारी दिए । 
 
प्रधानमन्त्री कोइरालासाथ परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डे, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा दिनेश भट्टराई, प्रधानमन्त्री कार्यालयका सचिव नारायण गोपाल मलेगु, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, सहसचिव ताराप्रसाद पोखरेल, शिष्टाचार महापाल अर्जुनकान्त मैनाली, सहसचिव रमेशप्रसाद खनाल, उपसचिव दुर्गाप्रसाद भण्डारी, प्रधानमन्त्रीका निजी चिकित्सक प्रा डा करवीरनाथ योगी, स्वकीय सचिव अतुल कोइराला र सहयोगी मृदुला कोइराला रहनेछिन् । 
 
सो टोलीमा न्युर्याेकस्थित नेपाली नियोगबाट स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराईसहित सात जना र नेपाली दूतावास वासिङ्टन डिसीबाट राजदूत डा अर्जुनकुमार कार्की सदस्यका रुपमा सहभागी हुुने छन् । रासस