मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

संविधान जारीसँगै देश समृद्धिको मार्गमा उन्मुख हुने विश्वास

संविधान जारीसँगै देश समृद्धिको मार्गमा उन्मुख हुने विश्वास


काठमाडौँ । संविधानसभाबाट नयाँ संविधान जारी भएसँगै विभिन्न सेवा, पेसा र व्यवसायमा आबद्ध सर्वसाधारणमा देश अब समृद्धिको मार्गमा उन्मुख हुने आशा एवम् विश्वास जागेको छ ।
 
नयाँ संविधान नेपाली जनताको मह¤वपूर्ण उपलब्धि भएको भन्दै यसको सफल कार्यान्वयन गर्न सबैले एकताबद्ध प्रयास गर्नुपर्नेमा जोड दिइएको छ ।
 
कलङ्कीमा विगत लामो समयदेखि होटल एवम् गेष्टहाउस सञ्चालन गर्दै आएका कलङ्की होटल एण्ड गेष्ट हाउस एसोसिएसनका सचिव तुलसीप्रसाद भण्डारी (कमल)ले संविधान जारी हुनुले देश अब समृद्धिको मार्गमा जाने आशा जगाएको बताए । 
 
‘संविधान जारी भएसँगै राजनीतिक सङ्क्रमण अब सकारात्मक मोडमा पुगेको छ’– उनले भने, ‘असन्तुष्ट दलका भावनासमेतलाई समेट्दै देशलाई समृद्धि र विकासको मार्गमा लैजानुपर्छ ।’
 
संविधान जारी हुनुले आफूजस्ता धेरै व्यवसायीमा खुसी ल्याएको बताउँदै उनले खुसियालीमा दीपावली गरी दिगो शान्ति र विकासको कामना गरिएको बताए । 
 
संविधानले नेपाली समाजलाई नयाँ मोडमा पु¥याएको बताउने चम्पादेवी क्षेत्र सुधार तथा व्यवस्थापन संस्थाका अध्यक्ष जनक तामाङले नेपाली जनताको यो उपलब्धिलाई कार्यान्वयनमा लैजाने चुनौतीलाई सबैले एकताबद्ध भएर समना गर्नुपर्ने बताए । 
 
‘नेपाल लामो समयदेखिको एकारात्मक शासन व्यवस्थाबाट सङ्घात्मक शासन व्यवस्थामा अघि बढेको छ’– उनले भने, ‘केही दलका असन्तुष्टिलाई पनि सम्बोधन गर्न दलहरू सफल बन्नुपर्छ, सबै एक भएर लागेमा देश चाँडै नै अल्पविकसितबाट विकसित बन्ने निश्चित छ ।’
 
संविधान आएको खुसियालीमा संस्थाले दीपावली कार्यक्रम सम्पन्न गरेको उनले जाकारी गराए । संविधानले प्रत्येक नेपाली युवामा आशा जगाएको बताउने दहचोक एकता क्लबका अध्यक्ष रोशन दानी दिगो शान्ति र विकास कायम गर्न सके रोजगारीको खोजीमा विदेशिएका लाखौँ युवा स्वदेशमै फर्की यही नै श्रम पसिना बगाउने बताए । 
 
‘देशको राजनीतिक अस्थिरता र बेरोजगारीको समस्याका कारण लाखौँ नेपाली युवा विदेशी भूमिमा कामको खोजीमा गएका छन्’, उनले भने, ‘नयाँ संविधानसँगै लामो समयदेखिको राजनीतिक अस्थिरता अन्त्य भएको छ, देशले अब काँचुली फेर्नुपर्छ ।’
 
दानीजस्तै हेनरीफोर्ड इन्टरनेसनल कलेजमा बिबिएस तेस्रो वर्षमा अध्ययनरत छात्रा मञ्जु भण्डारीले संविधानले आफूजस्ता धेरै विद्यार्थीमा खुसी ल्याएको बताए । ‘संविधानसँगै देशले राजनीतिक स्थिरता प्राप्त गर्ने निश्चित भएको छ’, उनले भने– ‘स्वदेशमा नै रोजगारी पाउने सुनिश्चितता भएमा युवा विदेशिने क्रम तत्काल अन्त्य हुन्छ, अब सबै दल संविधानको सही कार्यान्वयनतर्फ उन्मुख बन्नुपर्छ ।’
 
संविधान जारी भएसँगै आइतबार साँझ काठमाडौँ दक्षिण पश्चिम भेगका विभिन्न स्थानमा दीपावली गरी संविधानको स्वागत गरिएको छ ।
 
नेपाली जनताको लामो समयदेखिको प्रतीक्षापछि देशले नयाँ संविधान पाएको खुसियालीमा नेकपा (एमाले)ले कीर्तिपुरमा दीपावली गरेको नेकपा (एमाले)का नेता सुरेन्द्र मानन्धरले जानकारी गराए । रासस 
 

शेयर गर्नुहोस:

0
Shares