मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

संविधानसभा व्यवस्थापिका–संसदमा रुपान्तरित

संविधानसभा व्यवस्थापिका–संसदमा रुपान्तरित


काठमाडौँ । ‘नेपालको संविधान, २०७२’ जारी भएसँगै संविधानसभा व्यवस्थापिका–संसदमा रुपान्तरण भएको छ ।
 
संविधान घोषणा गर्न आइतबार बसेको संविधानसभा बैठकको अन्त्यमा सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधानसभा व्यवस्थापिका–संसदमा परिणत भएको घोषणा गरे । 
 
राष्ट्रपति डा रामवरण यादवबाट हस्ताक्षर भई जारी भएको संविधानका  पाँच प्रतिमध्ये क्रमशः एक–एक ओटा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानुन न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालय, व्यवस्थापिका–संसद् सचिवालय र राष्ट्रिय अभिलेखालयमा राखिने जानकारी पनि सभाध्यक्ष नेम्वाङले दिए । 
 
त्यसअघि  उनले २०७० साल माघ ८ गते प्रारम्भ भएको संविधानसभाको बैठक ६०७ दिन सञ्चालन भई १३० दिन पूर्ण बैठक भएका तथा त्यसअवधिमा ३२८ घण्टा ४५ मिनेट खास कार्यमा व्यतित भएको बताए । साथै, उनले संविधानसभामा भएका अन्य गतिविधिबारे पनि सभालाई अवगत गराए । 
 
सभाध्यक्षले संविधान निर्माणमा सक्रिय सहयोग गरेका तर अन्तिम क्षणमा संविधान लेखनको प्रक्रियाबाट बाहिरिएकाहरूलाई सङ्केत गर्दै लोकतान्त्रिक पद्धतिमा समाहित हुन अनुरोध पनि गरे । 
संविधान निर्माणमा प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा सहयोग गर्ने  नेपाली जनता, सरकार, निर्वाचन आयोग, विभिन्न पेसाकर्मी, नागरिक समाज, सुरक्षा निकाय तथा संसद् सचिवालयका कर्मचारीप्रति उनले कृतज्ञता प्रकट गरे । 
 
राष्ट्रपतिबाट संविधान घोषणाका साथै संविधानसभालाई सम्बोधन भएकोमा राष्ट्राध्यक्षप्रति उनले हार्दिक आभार व्यक्त गरे । त्यसअघि सभाले धन्यवादको प्रस्तावद्वारा राष्ट्रपतिप्रति कृतज्ञता ज्ञापन गरेको थियो । रासस