मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संविधान जारी गर्ने दिन बन्द गरेको भन्दै गोरखामा प्रतिकार

संविधान जारी गर्ने दिन बन्द गरेको भन्दै गोरखामा प्रतिकार


गोरखा । संविधानसभाबाट जनताको प्रतिनिधिले बनाएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधान घोषणा गर्ने दिन आज संविधानको स्वागत गर्नुको सट्टा बन्द गरेर जनतालाई दुःख दिएको भन्दै गोरखाका स्थानीयवासीले प्रतिकार गरेका छन् । 
 
बन्दको आह्वान गर्दै हरमटारी चोकमा हिँडेका नेकपा–माओवादी, नेकपा माओवादी र सङ्घीय समाजवादी फोरमका नेता कार्यकर्तालाई यातायात सञ्चालन गर्न पाउनुपर्ने, पसलहरू खोलेर व्यापार, व्यवसाय, काम गर्न पाउनुपर्ने भन्दै स्थानीयवासीले बन्दकर्ताको प्रतिकार गरेका हुन् । साथै प्रतिकार टोलीले जारी हुन लागेको संविधान प्रगतिशील र जनचाहनाअनुसार आएको बताएका छन् । 
 
स्थानीयवासीले चलाएको मोटरसाइकलको साँचो माओवादी कार्यकर्ताले नियन्त्रणमा लिएपछि स्थानीयवासीले बन्दको प्रतिकार सुरु गरेका हुन् । नेकपा–माओवादीका जिल्ला इञ्चार्ज परशुराम रम्तेल र प्रतिकार समूहबीच पटक–पटक भनाभन भएको थियो ।
 
प्रतिकार समूहले बन्द गर्नुको औचित्यबारे माओवादीसँग प्रतिक्रिया मागेका थिए । “अब कसैले बन्द गर्न पाउँदैन । बन्दविरुद्ध आजदेखि गोरखाबाट अभियान सुरु भयो” प्रतिकार समूहका एक सदस्यले भन्नुभयो । करिब २० जना बन्दकर्ता झन्डा बोकेर सडकमा छन् । साथै ५० भन्दा बढी स्थानीय बन्दको प्रतिकारमा अस्पतालमार्गस्थित सडकमा छन् । 
 
सधैँ बन्द हुँदा व्यापार, व्यवसाय गर्न नपाएको भन्दै व्यापारीहरूले प्रतिकार गरेका हुन् । साथै यातायात मजदुर पनि बन्दको प्रतिकारमा थिए । प्रहरीले बन्दकर्ता र प्रतिकार समूहलाई अलग्याएपछि अहिले परिस्थिति शान्त भएको छ । 
 
लोकतन्त्रमा विरोध गर्न पाउने अधिकार भएको भन्दै उहाँले दलित, मुस्लिम, मधेसी, थारुलगायत पिछडिएका समुदायलाई अधिकार नदिएको संविधान जारी हुनुको अर्थ नभएको बताउनुभयो । 
 
आज साँझ हरमटारी चोकमा काँग्रेस, एमाले, एमाओवादीले संविधानको स्वागत गर्दै दीपावली कार्यक्रम आयोजना गरेका छन् । २०७२ वटा दीप प्रज्ज्वलन गरी दीपावली कार्यक्रम भव्य गर्ने तयारी रहेको छ । साथै अन्तरपाटी महिला सञ्जालले सद्भावना ¥याली निकाल्ने तयारी गरेको सञ्जालकी रविकला खनालले जानकारी दिनुभयो ।
 
गोरखाको गाउँ–गाउँका साथै सरकारी, गैरसरकारी कार्यालयमा बेलुकी दीपावली कार्यक्रमको तयारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमल्सेनाले संविधान आएको खुसियालीमा सबै कार्यालयमा दीपावली गर्न निर्देशन दिएको बताउनुभयो । रासस