नेपाल

गणेशमान सिंहको स्मृतिमा अस्पताल बन्ने

गणेशमान सिंहको स्मृतिमा अस्पताल बन्ने


झापा । लौहपुरुष गणेशमान सिंहको नामबाट झापाको झिलझिलेमा स्थापित गणेशमान सिंह अध्ययन प्रतिष्ठान प्राविधिक तथा व्यावसायिक शिक्षालयले झिलझिलेमा एकसय श्ययाको अस्पताल निर्माण गर्ने भएको छ । 
 
अस्पताल निर्माणका लागि झिलझिले बजार पूर्व उत्तर पूर्वपश्चिम राजमार्गसँग जोडिएको १० बिगाहा जमिन उपलब्ध भइसकेको र अस्पताल निर्माणका लागि पहल भइरहेको प्रतिष्ठानका अध्यक्ष सन्तोषकुमार मेनाङ्वोले बताउनुभयो । 
 
सिंहको १८औँ स्मृति दिवसको अवसरमा आज आयोजित कार्यक्रममा उहाँले नेपाल सरकार तथा विभिन्न दातृ निकायको सहयोगमा अस्पताल निर्माण गर्न लागिएको बताउनुभयो । झन्डै रु ९५ करोडको लागतमा निर्माण गर्न लागेको अस्पताल सुविधा सम्पन्न हुने अध्यक्ष मेनाङ्वोले उल्लेख गर्नु भयो । ग्रामीण क्षेत्रका स्थानीयवासीलाई सहजै स्वास्थ्य सेवाको पहुँच पु¥याउन अस्पतालको निर्माण गर्न लागिएको र अस्पताल निर्माणका लागि सबैलाई सहयोग पु¥याउनसमेत उहाँले आग्रह गर्नुभयो । 
 
समाजसेवी गोपालकुमार बस्नेतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका कोषाध्यक्ष प्रेमकुमार खड्काले अस्पताल निर्माणका लागि शिवसताक्षी नगरपालिका–७ मा १० कट्ठा जमिन सरकारबाट उपलब्ध भइसकेकाले यसै आवबाट अस्पतालको निर्माणकार्य सुरु गरिने बताउनुभयो । 
 
कार्यक्रममा डा विजय लिङ्देनले यस क्षेत्रमा प्रतिष्ठानले प्राविधिक तथा व्यावसायिक शिक्षालयसमेत सञ्चालन गरेर अस्पताल सञ्चालन गर्न सके धेरैले यसबाट सेवा लिन पाउने धारणा राख्नु भयो । 
 
त्यस्तै कार्यक्रममा संस्थाका सदस्य ज्ञानेन्द्रबहादुर न्यौपाने, विष्णुबहादुर सुब्बा, नेपाली काँग्रेस शिवसताक्षी नगर सभापति पर्शुराम ढुङ्गाना, आदिवासी जनजाति महासङ्घका भवानीविक्रम सेलिङ, शिक्षा सेवी चन्द्रप्रसाद खनाललगायतले अस्पताल निर्माणका आ–आफ्नातर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस 
 

शेयर गर्नुहोस:

0
Shares