मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

संविधान जारी हुने भएपछि चितवनवासीमा खुसियाली

संविधान जारी हुने भएपछि चितवनवासीमा खुसियाली


चितवन । संविधानसभाबाट आज संविधान जारी हुने भएपछि जिल्लावासी हर्षित भएका छन् । सबै समुदायको माग नसमेटिए पनि साझा दस्तावेजका रूपमा संविधान जारी हुने भएपछि जिल्लामा खुसियाली छाएको हो । सङ्घसंस्थाहरूले आजैदेखि दीप प्रज्वलनका कार्यक्रम आयोजना गरेर खुसियाली साटासाट गर्न सुरु गरेका छन् ।
 
सडकमा रिक्सा चलाउने मजदुरदेखि सम्पन्न परिवारसम्मले संविधान जारी हुँदै गर्दा प्रशन्नता प्रकट गरेका छन् । जिल्लामा रहेका विभिन्न समुदाय, जातजाति, धर्म, लिङ्ग, पेसाकर्मीलगायतले संविधानलाई नेपाली जनताको जितका रूपमा लिएका छन् । 
 
जिल्लाको विकट गाउँ सिद्धिका महेन्द्र चेपाङले चेपाङ सङ्घीय राज्य नभएको र पिछडिएको जातिमा नपरेर चेपाङ समुदाय आदिवासीमा परेकामा चिन्ता लागेको भए पनि संविधान बनेर देशले निकास पाएकामा भने खुसी रहेको बताउनुभयो । 
 
खैरहनीकी चन्द्रकुमारी चौधरी र वछौलीका जङ्गीलाल महतोलाई आफ्ना माग पूरा नभएकामा चिन्ता भए पनि देशले निकास पाएकामा भने निकै खुसी लागेको छ । मुलुकले कोल्टे फेरेको भन्दै पछाडि परेको समुदायलाई अगाडि बढाउन अबको संविधानले सक्नुपर्ने उहाँहरूको भनाइ छ ।
 
नारायणगढमा रिक्सा चलाउने काम गर्दै आउनुभएका रौतहटका ३२ वर्षीय चितुरी महतोलाई भने संविधान जारी हुने सुनेदेखि निकै खुसी लागेको छ । बन्द हडतालका कारण काम गर्न नपाएको बताउँदै उहाँले अब देशमा शान्ति हुने धारणा राख्नु भयो । बन्द हडताल नभए गरेर हामी खान्छौँ कसैको निगाहा चाहिँदैन महतोको भनाइ थियो ।
–ः १८ ः–
 
भरतपुरको चौबीसकोठीमा फलफूल बेच्दै आउनुभएका माडीका ३० वर्षीय गौरीश्वर रेग्मीलाई पनि निकै खुसी लागेको छ । संविधानले सबै जनतालाई सम्बोधन गर्ने भन्दै उहाँले आफूले दुःख पाए पनि सन्ततिले सुख पाउने बताउनुभयो ।
 
पश्चिम चितवनको मङ्गलपुरस्थित विश्व प्रकाश उच्च माविका शिक्षक गोविन्द सुवेदीले लामो पर्खाइपछि नेपाली जनताले संविधान पाउनु गर्वको विषय भएको भन्दै भव्य रूपमा यसलाई उत्सवका रूपमा लिनुपर्ने बताउनुभयो । संविधानलाई बच्चाबच्चीदेखि वृद्धवृद्धासम्मले हर्षका साथ लिएका छन् ।
 
भरतपुर उपमहानगरपालिका वडा नं १० की ६९ वर्षीया मनकली पण्डितले आफूले यो उमेरमा संविधान देख्न पाएकामा खुसी व्यक्त गर्दै यसलाई सबैले खुसियालीका रूपमा मनाउनुपर्ने बताउनुभयो । निर्माण व्यवसायी सङ्घ चितवनका उपाध्यक्ष उमानन्द कँडेलले संविधानलाई सबैले हर्षका रूपमा लिएर देश विकासका लागि मार्गनिर्देश हुने अपेक्षा गरेको बताउनुभयो ।
 
संविधानलाई अपाङ्गहरूले पनि खुसियालीका रूपमा लिएका छन् । अपाङ्ग सङ्घ चितवनका अध्यक्ष अम्बिकालाल श्रेष्ठले अस्थिरताले विकासको गति लिन नसकेको देशमा संविधान आउनु सबैका लागि सुखद रहेको उल्लेख गर्नु भयो । जिल्ला स्थित सवै दलहरूले संयुक्त रूपमा दिप प्रज्वलन र स्वागत र्याली गरेर संविधानलाई स्वागत गर्दैछन् ।