मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

संविधानमा हस्ताक्षर गर्न सभाध्यक्ष नेम्बाङद्वारा आह्वान

संविधानमा हस्ताक्षर गर्न सभाध्यक्ष नेम्बाङद्वारा आह्वान


काठमाडौँ । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङले संविधान जारी नहुँदासम्म संविधानमा हस्ताक्षर गर्न सभासद्लाई आह्वान गर्नुभएको छ ।

संसद् सचिवालयमा आज पत्रकारसँग कुरा गर्दै उहाँले संविधानसभा कार्य सञ्चालन नियमावली, २०७० बमोजिम संविधान सार्वजनिक नगर्दासम्म सभासदले चाहँदा संविधानको प्रतिमा हस्ताक्षर गर्न सक्ने भएकाले संविधानमा हस्ताक्षर गर्न आग्रह गर्नुभएको हो ।

संविधानसभाले शुक्रबार ३ बजेसम्म संविधानमा हस्ताक्षर गर्ने औपचारिक कार्यक्रम राखेको थियो । अध्यक्ष नेम्वाङले भन्नुभयो, “औपचारिक समयमा अनुपस्थित हुने दल र सभासद्लाई भोलि राष्ट्रपति डा रामवरण यादवले संविधान जारी नगर्दासम्म संविधानमा हस्ताक्षर गर्नुस् र संविधानलाई ग्रहण गर्नुस् ।”

संविधानसभाले बनाएको संविधानको जगमा उभिएर बाँकी रहेका असन्तुष्टिलाई सम्बोधन गरेर अगाडि बढ्न आग्रह गर्दै उहाँले त्यो नै देश जनताका लागि उपयुक्त हुने बताउनुभयो । अध्यक्ष नेम्बाङले भन्नुभयो, “संविधानसभाबाट पारित संविधान हिमाल, पहाड र तराईका जनताको विजय हो, उहाँको चाहना र भावनाले मूर्तता पाएको छ ।”

उहाँले संविधानसभामा रहेका दल, संविधानसभाभन्दा बाहिर रहेका दलहरु र प्रक्रियामा भाग लिई पछिल्लो समयमा बाहिरिनुभएका दलहरु सबैको क्रियाशीलता र मेहनतको परिणाम भएको उल्लेख गर्नुभयो । सबै राजनीतिक दलका नेताले खेलेको भूमिका बारेमा आफू जानकार रहेको बताउँदै अध्यक्ष नेम्बाङले भन्नुभयो, “यो संविधानमा सबै राजनीतिक दलको मेहनत परेको छ ।”

संविधानका एक–एक धारा र वाक्यांश हेर्ने हो भने दलहरुका नेताले खेलेको भूमिका झल्कने बताउँदै उहाँले केही विवाद भयो भन्दैमा सिङ्गो संविधानलाई ग्रहण नगर्नेतर्फ जान नहुने बताउनुभयो ।

संविधान जारी गर्ने भोलिको औपचारिक कार्यक्रमका सबै तयारी पूरा भएको जानकारी दिँदै अध्यक्ष नेम्बाङले सबैलाई उक्त कार्यक्रमा सरिक हुन आह्वानसमेत गर्नुभयो । रासस