मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

दुर्घटनामा मृतकको सङ्ख्या आठ, ३३ घाइते काठमाडौँमा, फेरि अर्को दुर्घटना

दुर्घटनामा मृतकको सङ्ख्या आठ, ३३ घाइते काठमाडौँमा, फेरि अर्को दुर्घटना


मन्थली । शुक्रबार रामेछापमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ ।

दुर्घटनामा परी घाइते भएका ३३ जनालाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ ।

दुर्घटनामा परी गोठगाउँ गाविस–३ की मसिनी कार्की, गोठगाउँ–४ का हेमबहादुर थापा, गोठगाउँ–५ का भीमबहादुर बुढाथोकी, मन्थली नगरपालिका–७ की दिलकुमारी आलेमगर, मन्थली नगरपालिका–७ कै मनकुमारी पिठाकोटी, बिजुलीकोट–३ का जीतजङ्ग महत, गोठगाउँ–६ का कृष्ण कार्की, गोठगाउँ–५ की सेतुमाया श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका ३३ जनालाई शुक्रबार र शनिबार गरेर थप उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक मोहनकुमार परियारले जानकारी दिए । थप उपचारका लागि काठमाडौँ लगिएकामध्ये १७ जनाको बी एन बी, आठ जना नर्भिक, चार जना धुलिखेल, एक जनाको न्युरो, एक जनाको केएमसी अन्य अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सामान्य घाइतेहरुको सदरमुकाम मन्थलीस्थित अस्पतालमा उपचार भइरहेको छ ।

मृतकका परिवारलाई क्षतिपूर्ति बापत रु दुई लाख ७५ हजार
दुर्घटनामा परी मृत्यु भएकाका परिवारलाई क्षतिपूर्तिबापत रु दुई लाख ७५ हजार दिने सर्वपक्षीय सहमति भएको छ । मृतकका आफन्तले क्षतिपूर्तिको माग गर्दै सदरमुकाममा यात्रुबाहक गाडी सञ्चालन गर्न नदिएपछि आज दिनभर यातायातका साधन सञ्चालन भएनन् ।

सर्वपक्षीय छलफलबाट राहत उपलब्ध गराउने सहमति भएपछि मृतकका आफन्तले शव बुझेर सामूहिक दाहसंस्कार गरेका छन् भने सहमतिपछि अवरुद्ध यातायात पनि सञ्चालनमा आएको छ ।

ट्याक्टर दुर्घटनामा ३६ घाइते
जिल्लाको खिम्ती गाविसको खिम्ती बजारबाट जस्ता पाता र निर्माण सामग्री लिएर फर्पू गाविसतर्फ जाँदै गरेको ना४त ४०३२ नं ट्याक्टर फर्पू गाविस–१ सिस्नेरीमा दुर्घटना हुँदा ३६ जना घाइते बनेका छन् ।

हिजो भएको बस दुर्घटनामा मृतकका आफन्तले क्षतिपूर्तिको माग गर्दै यातायात बन्द गरेपछि बस सञ्चालन हुन नसक्दा गाउँबाट किनमेल र कामका लागि खिम्ती झरेका स्थानीयवासी ट्याक्टर चढेर गाउँ गइरहेका बेला एक्कासी ट्याक्टर ब्रेक फेल भई सडकबाट ३० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

ट्याक्टरमा सामानसँगै ३८ जना चढेको बताइएको छ । दुर्घटनाका अधिकांश घाइतेलाई उपचारका लागि मन्थली ल्याइएको छ ।

घाइतेमध्ये गम्भीर अवस्थामा रहेकी फर्पू गाविस–५ की सुशीला पाख्रिन र नामाडी–८ का टेकबहादुर खडकालाई थप उपचारका लागि आजै काठमाडाँ पठाइएको छ । अन्य घाइतेको सदरमुकाम मन्थलीका अस्पतालमा उपचार भइरहेको छ । रासस