मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

गणेशमान : वीरता र साहसका प्रतिमूर्ति

गणेशमान : वीरता र साहसका प्रतिमूर्ति


काठमाडौँ । लौहपुरुष गणेशमान सिंह नेपालको प्रजातान्त्रिक आन्दोलनका वीर र साहसी योद्धा भएकाले उहाँको योगदान अनुसरण गर्न सके सामाजिक रुपान्तरणमा ठूलो योगदान पुग्ने विश्वास लिइएको छ । 
 
सिंहको १८औँ स्मृति दिवस मनाउँदै गर्दा उहाँका अनुयायी एवम् जानकारले प्रजातन्त्रका लागि अनवरत योगदान गर्ने महापुरुषलाई भुल्न नहुने बताएका हुन् । जहानियाँ राणा शासनविरुद्ध आन्दोलनको अगुवाइ गरेका सिंहले १५ वर्षको लामो राणाकालीन कारागार जीवन बिताउनुभएको थियो । 
प्रजातन्त्र पुनःबहालीका लागि सिंहकै नेतृत्वमा २०४६ सालमा देशका सम्पूर्ण बामपन्थीसँग कार्यगत एकता गरेर आन्दोलन गरिएको थियो । उहाँका समयमा नै २०४७ सालको संविधान बनेको थियो । 
 
गणेशमान सिंह फाउन्डेसनको अगुवाइमा आज उहाँको स्मरण गरियो । सिंहको विसं २०५४ मा आजकै दिन निधन भएको थियो । आज एक कार्यक्रमममा लौहपुरुष सिंहका जेठा छोरा प्रकाशमान सिंहले राजनीतिमा लाग्ने नयाँ पुस्ताका लागि उहाँ प्रेरणादायी व्यक्तित्व भएको बताउनुभयो । नेता सिंहले १०४ वर्षको राणा शासनको समाप्त गर्न मात्र नभई प्रजातन्त्र स्थापना र पुनःस्थापनामा लौहपुरुषले १५ वर्षभन्दा बढी समय कारागार जीवन र निर्वासित जीवन बिताएको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो– “गणेशमान प्रजातान्त्रिक मूल्य मान्यतालाई संस्थागत गर्न ठूलो योगदान पु¥याउनुभयो, उहाँ त्याग, तपस्या र निष्ठाको राजनीति गर्नुपर्छ भनेर जतिसुकै प्रतिकूल अवस्थामा लाग्ने व्यक्ति हुनुहुन्थ्यो ।” 
 
सिंह विसं १९९७ गङ्गालाल, धर्मभक्तलगायतका व्यक्तित्वसँग राणाकालीन समयमा कारागार पर्नुभएको थियो । नेपाली काँग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डे सिंहलाई त्यागको प्रतिमूर्तिका रुपमा सम्झनुुहुन्छ । सभासद् पाण्डे भन्नुहुन्छ, “गणेशमान सिंह त्यागी राजनीति गर्नुभएको राजनीतिक व्यक्तित्व हो तर अहिले भोगवादी राजनीति देशमा चलेको छ ।” उहाँले सिंहलाई भारतका गान्धी र मण्डेलाको सङ्ज्ञा दिनुभयो । 
 
“संविधान निर्माणसँग देशमा आर्थिक क्रान्ति गर्नुपर्छ भन्ने विचार सिंहको थियो”, पाण्डेले भन्नुभयो– “उहाँले देशमा भएको अथाह जलसम्पदालाई प्रयोग गर्नसके मुलुक अगाडि बढ्ने बताउनुभएको थियो ।”
 
काँग्रेसका नेता रामकृष्ण चित्रकारले सिंहको विचार र अडानका कारण २०४६ सालमा प्रजातन्त्रको पुनःबहाली भएको स्मरण गर्नुभयो । 
 
उहाँले सिंह बडाकाजीका कुलमा जन्मेर पनि जनताको अधिकारका लागि लड्ने व्यक्ति भएको प्रति पार्टीले गर्व गर्नुपर्ने धारणा राख्नुभयो । “सिंहले समावेशिताको मुद्दालाई स्थापित गराउन लाग्नुभएको थियो जो अहिले साकार हुँदैछ”, चित्रकारले भन्नुभयो– “गणेशमानबाट आदर्श प्रजातान्त्रिक मूल्यमान्यताको राजनीति गर्नुपर्ने पाठ सिक्नुपर्छ ।”
 
बिपी कोइरालाको राजनीतिक सहयात्री भएर २००७ सालमा प्रजातन्त्रको स्थापनामा सिंहको महत्वपूर्ण योगदान थियो । सिंह २००१ सालमा भद्रगोल कारागार तोडेर २० फुट अग्लो पर्खालबाट भाग्नुभएको थियो । 
 
कोइरालाले सिंहलाई वीर गणेशमानको सङ्ज्ञा दिनुभएको थियो । पत्रकार माथवरसिंह बस्नेतले गणेशमान सिंह सच्चा राष्ट्रवादी नेता भएको सम्झना गर्नुभयो । पत्रकार बस्नेतले नेपाली जनतालाई नेपालको मालिक बनाउन सिंहले गरेको योगदानको चर्चा गर्दै भन्नुभयो, “आफ्नो सम्पूर्ण जीवन परिवर्तनका लागि समर्पण गर्ने उहाँ त्यागी तथा साहसी नेता हुनुहुन्थ्यो ।”
 
नेपाल महिला सङ्घ काठमाडौँका अध्यक्ष विष्णुदेवी पुडासैनीले प्रधानमन्त्री जस्तो पद पाउँदा पनि कृष्णप्रसाद भट्टराईलाई सुम्पिएर त्याग र राजनीति इमान्दारीको उचाइ प्रदर्शन गर्न सक्ने सिंह महापुरुष भएको जिकिर गर्नुभयो । रासस