मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

स्वचालित पेस्तोलसहित एक पक्राउ

स्वचालित पेस्तोलसहित एक पक्राउ


लहान । मोटरसाइकल चढेर सिरहातर्फ आउँदै गरेको अवस्थामा सिरहाको दक्षिणी सीमावर्ती क्षेत्रमा पर्ने माडरबाट सशस्त्र प्रहरीले स्वचालित पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ ।

सीमावर्ती भारतीय बजार जयनगरबाट मोटरसाइकल चढेर सिरहा आउँदै गरेको अवस्थामा बुधबार राति ९ बजेतिर सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट माडर खैरटोकामा रोकेर जाँच गर्दा स्वचालित पेस्तोलसहित भेटिएकाले युवकलाई पक्राउ गरिएको हो ।

सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय सिरहाका प्रहरी उपरीक्षक महेश श्रेष्ठले जाँचको क्रममा सिरहाको इटारी प्रसाही गाविस–४ का २८ वर्षीय लेखनाथप्रसाद यादवलाई पक्राउ गरिएको बताउनुभयो ।

प्रहरी उपरीक्षक श्रेष्ठका अनुसार पक्राउ परेका यादवको साथबाट ९ एमएमको स्वचालित पेस्तोल एक थान, त्यसमा लोड गरिएको ७ राउण्ड गोली समेत बरामद गरिएको छ ।

पक्राउ गरिएका यादवको साथबाट सशस्त्र प्रहरीले एचटिसी कम्पनीको मोबाइल एक थान, रु दुई हजार २४०, स २ प २५२६ नम्बरको पल्सर मोटरसाइकल र सिडिएमए सेटको एक थान ब्याट्रीसमेत बरामद गरिएको जनाइएको छ ।

पक्राउ परेका यादवलाई नेपाल प्रहरीलाई बुझाई थप अनुसन्धान गरिने जनाइएको छ ।

त्यसअघि नेपाल प्रहरीले सिरहाको पूर्वी दक्षिणी नाका इनर्वाबाट मङ्गलबार बिहान कटुवा पेस्तोल र त्यसमा लाग्ने चार राउण्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको थियो । रासस