मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अवैध रुपमा रकम असुली गर्ने युवक पक्राउ

अवैध रुपमा रकम असुली गर्ने युवक पक्राउ


नवलपरासी । यातायातदेखि पसल, व्यवसायसँग कर असुलीका लागि ठेक्का लिएको भन्दै नवलपरासीको सुनवल क्षेत्रमा रकम असुल्ने एक युवकलाई नगरपालिकाका कर्मचारीले पक्राउ गरी प्रहरीको जिम्मा लगाएको छ । 

नक्कली रसिद बनाएर मोटरसाइकलदेखि तीज मेलामा आएका पसल व्यवसायसँग रकम असुल्ने सुनवल–४ का सन्दीप पुनलाई पक्राउ गरी प्रहरीको जिम्मा लगाएको नगरपालिकाका सहलेखापाल दीपक तिवारीले बताए । सर्वसाधरणदेखि व्यवसायीहरुलाई ठगी गर्दै असुल गरेको रसिदमा विभिन्न सरकारी कार्यालय र संघसंस्थाको छाप छ । 

कुनै रसिदमा पोखरा फेवाताल सहयोगार्थ र कुनैमा जिल्ला विकास मन्त्रालय, नवलपरासी उल्लेख छ । त्यसरी काटिएका रसिदमा मोटरसाइकलको ५० र पसल व्यवसायसँग २ सयसम्म रकम असुलेको देखिएको छ । उनले दुई दिन अघिदेखि सुनवल क्षेत्रमा रकम असुल गर्दै आएका थिए । 

इलाका प्रहरी कार्यालय सुनवलका निरीक्षक प्रकाश दाहालका अनुसार पक्राउ परेका व्यक्ति यसअघि पनि सशस्त्र प्रहरीको हवल्दारको नक्कली परिचयपत्र बनाएर विभिन्न स्थानमा रकम असुल गरेको आरोपमा समातिएका थिए । 

पक्राउ परेका पुनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको प्रहरी निरीक्षक दाहालले बताए ।