मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सुन तस्करीमा तिब्बती नागरिकको प्रयोग

सुन तस्करीमा तिब्बती नागरिकको प्रयोग


सुरुङ्गा (झापा) । भारतको पश्चिम बङ्गालको सिलगढीबाट झापाको पूर्वी नाका काँकरभिट्टा हुँदै नेपालमा सुन तस्करी हुने गरेको रहस्य सार्वजनिक भएको छ । 
 
झापाको भद्रपुर विमानस्थलबाट एक तिब्बती नागरिक हिजो पक्राउ परेसँगै यस्तो रहस्य खुलेको हो । चिनिया भएको बताउने उनले ललितपुरबाट नागरिकता लिएको प्रहरी समक्ष स्वीकारेका छन् । दश किलो सुनसहित पक्राउ परेका तेञ्जिङ्ग सिरुप नाम बताउने १९ वर्षीय युवकलाई जिप्रका झापाले सार्वजनिक गरेको हो । 
 
उसबाट बरामद गरिएको सुनको मूल्य रु चार करोड ८१ लाख रहेको प्रहरीले आज पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ । 
 
यसअघि पनि उनले यही नाका भएर सुन ओसारेको बताएका छन् । ठूलो परिमाणमा सुनसहित पक्राउ परेका उनी सुन बोक्ने भरियामात्र भएको प्रहरीको भनाइ छ । 
 
तिब्बती नागरिक भए पनि उनले ताप्लेजुङ्ग जिल्ला हाङ्गदेबा गाविस–१ आफ्नो जन्मस्थान उल्लेख गरेर ललितपुरबाट २०७१ वैशाख ३ गते २८–०१–०७१–०००२ नम्बरको सोनाम गुरुङ्गको नाममा नेपाली नागरिकता लिएका छन् ।
 
प्रहरीले उनको नागरिकतासमेत सार्वजनिक गरेको छ । उसबाट एकरएक केजीका १० टुक्रा सुन, २० हजार नेपाली रुपैयाँ र भारतीय रुपैयाँ १ हजार ४० रुपैयाँ बरामद गरिएको प्रहरी उपरीक्षक ठाकुरप्रसाद ज्ञवालीले जानकारी दिनुभयो । 
 
उनी हिन्दी र अङ्ग्रेजी भाषामात्र बोल्न सक्छन्, नेपाली भाषा बोल्न जान्दैनन् । भारतको सिलगढीका राजेश भनिने व्यक्तिले उनलाई काठमाडौँ बस्ने उनकै भाइलाई सुन पु¥याउन पठाएको तेञ्जिङले सञ्चारकर्मीसँगको कुराकानीमा बताए ।
 
काठमाडौँमा सुन पु¥याएबापत प्रतिकिलो भारतीय रुपैयाँ पाँच हजार दिने सर्तमा उनी लामो समयदेखि सुन ओसारपसारमा संलग्न रहँदै आएको र अहिले तराईमा यातायात बन्द भएकाले हवाइजहाजबाट काठमाडौँ जाने तयारीमा भएको उनले बताए ।
 
मङ्गलबार दिउँसो २ः०५ बजे बुद्ध एयरलाइन्सबाट काठमाडौँ हिँडेका तेन्जिङ्गलाई भद्रपुर विमानस्थलका सुरक्षाकर्मीले नियमित जाँच क्रममा पक्राउ गरेको थियो । उनले लगाएको जुत्ताभित्र कालो प्लाष्टिकमा बेरी टेप लगाएर सुन राखिएको थियो । 
 
नेपाली नागरिकता भएकाले प्रहरीले उनको विषयमा थप अनुसन्धान गरिरहेको र  उनलाई क्षेत्रीय राजस्व कार्यालय इटहरी पठाउने तयारी भइरहेको प्रहरी उपरीक्षक ज्ञवालीले जानकारी दिनुभएको छ ।  
 
बाल्यकालदेखि नै भारतको विभिन्न स्थानमा शरणार्थी भएर जीवन बिताउदै आएका तेञ्जिङ्गको भेट राजेश भन्ने व्यक्तिसँग दिल्लीमा भएको उनले बताएका छन् । 
 
झापाको पूर्वी नाका काँकरभिट्टाको बाटो हुँदै तीन भारतीय नागरिकलाई अपहरण गरी झापामा एक महिनासम्म बन्धक बनाएको घटना सेलाउन नपाउँदै सोही नाका भएर सुन तस्करी गर्न खोजिएको यो नयाँ घटनाले सीमाक्षेत्रमा खटिएका प्रहरीलाई चुनौती थपिदिएको छ । 
 
केही दिनअघि झापाको बिर्तामोडबाट अपहरणमा संलग्न पाँच जनालाई पक्राउ गरिएको थियो भने अपहरणमा परेका तीन भारतीय युवकको सकुशल उद्धार गरिएको थियो । रासस