मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

संविधान पारितपछि शीर्ष नेता र सभामुखले के भने ?

संविधान पारितपछि शीर्ष नेता र सभामुखले के भने ?


काठमाडौँ । नेपालको नयाँ संविधान आजको संविधानसभा बैठकबाट पारित भएपछि प्रमुख दलका शीर्ष नेताले यस घटनालाई ऐतिहासिक भन्दै अब मुलुकमा स्थिरता र समृद्धि हुने विश्वास व्यक्त गर्नुभएको छ । 
 
दीपावली गरौँ  : प्रधानमन्त्री
बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले नेपाली जनताको २००७ सालदेखिको सपना पूरा भएको बताउनुभयो । 
 
सङ्क्षिप्त प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो, “सबैको योगदानबाट आज संविधान पारित भएको छ, म सबैलाई बधाई दिन्छु र दीपावलीका लागि आह्वान गर्छु ।”
 
राजनीतिक सङ्क्रमणकाल टुङ्गियो : ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लामो समयदेखि नेपाली जनताले गरेको प्रतिक्षाको घडी समाप्त भई जनताले आफ्ना प्रतिनिधिमार्फत् आफ्नो संविधान बनाउन सफल भएको प्रतिक्रिया दिनुभयो । 
 
उहाँले भन्नुभयो, “सबैको भूमिकाबाट यो ऐतिहासिक उपलब्धि हुन सम्भव भएको हो । अब नेपालको राजनीतिक सङ्क्रमणकाल टुङ्गियो । दोस्रो संविधानसभा पनि असफल हुने हो कि भन्ने शङ्काको पनि अन्त्य भयो ।”
 
अध्यक्ष ओलीले अब प्राकृतिक रुपमा सुन्दर र स्रोत साधनयुक्त नेपाललाई नयाँ संविधान कार्यान्वयनका आधारमा अघि बढाउने कार्यभार आएको बताउनुभयो । 
 
नेपालको विजय : दाहाल
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले नेपाली जनताको सपना साकार भएको रुपमा लिँदै जनता, राष्ट्र र स्वाभिमानको विजय हो भन्नुभयो ।
 
उहाँले भन्नुभयो, “संविधान बन्ने प्रक्रियामा त्याग र बलिदान गरेको पार्टीको नेताका नाताले सबै सहिद र घाइते तथा सबै जनतालाई बधाइ दिन चाहन्छु ।”
 
दाहालले विश्वको कुनै पनि मुलुकमा संविधानसभाबाट बन्ने संविधान धर्मशास्त्रका रुपमा नरहने भएकाले यसलाई परिमार्जन र गतिशील बनाउन सकिने भएकाले सभाबाहिर रहेका दललाई वार्तामा आउन तथा विजयउत्सवमा सहभागी हुन आग्रह गर्नु भयो ।
 
खुशीको क्षण : खनाल र देउवा
नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले आफूलाई जीवनकै अहिलेसम्मको खुसीको अनुभव भएको भन्दै जनताले आफ्ना प्रतिनिधिमार्फत् संविधान बनाएको गौरव र ऐतिहासिक घटनाका रुपमा लिएको बताउनुभयो । 
 
काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले नेपाली जनताको २००७ सालदेखिको चाहना पूरा भएकाले अब आन्दोलनकारी दललाई पनि वार्तामा आई मुलुकको उन्नतिमा लाग्न आग्रह गर्नुभयो । 
 
ऐतिहासिक सफलता : नेम्वाङ
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ्ले नेपालको नयाँ संविधान आजको संविधानसभा बैठकबाट पारित हुनुलाई ऐतिहासिक सफलताको संज्ञा दिनुभएको छ । 
 
संविधान पारित भएपछि पत्रकारहरुसँग कुरा गर्दै उहाँले जनताको सहभागितामा लामो समयदेखिको चाहना र भावनाका साथ संविधानसभाबाट संविधान बन्ने सपनाले मूर्तरुप लिएको बताउँदै यसमा सबैको योगदान रहेको छ भन्नुभयो ।
 
हर्षित र गम्भीर मुद्रामा प्रस्तुत हुनु भएका अध्यक्ष नेम्वाङले यो संविधान हालसम्मकै प्रगतिशील र लोकतान्त्रिक भएको उल्लेख गर्नुभयो । रासस