मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

टेन्टमा आगलागी भएपछि अस्पतालका कर्मचारीको विचल्ली

टेन्टमा आगलागी भएपछि अस्पतालका कर्मचारीको विचल्ली


धादिङ । सदरमुकाम धादिङवेशीस्थित जिल्ला अस्पताल धादिङका कर्मचारीहरु बस्दै आएको अस्थायी आवास गृह (टेन्ट)मा आगलागी भएको छ ।
मंगलबार बिहान टेन्टमा एक्कासि आगलागी भएको हो । आगलागी हुँदा टेन्टमा रहेका ओढ्ने ओछ्याउनेलगायतका लगाउने लत्ताकपडा जलेर नष्ट भएकोे पीडित सुजता गुरुङले बताइन् । 
 
वैशाख १२ को भूकम्पका कारण बस्दै आएको क्वाटर भत्किएपछि जिल्ला अस्पताल धादिङका कर्मचारीहरु सूर्यप्रसाद खतिवडा, सुजता गुरुङ र मिलन भण्डारीसहित  परिवारका सदस्यहरु एउटै टेन्टमा बस्दै आएका थिए । 
 
आगलागीमा परेर ब्लाङ्केट, सिरक, डसना, तन्ना, तकियालगायत लगाउने कपडासमेत जलेपछि समस्यामा परेको पीडितहरुले बताए । टेन्टभित्र विद्युत् सर्ट भएर या कसैले चुरोट खाएर टेन्टतिर फालिदिएका कारण आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । टेन्टभित्र कोही नभएको बेला आगलागी भएकाले मानवीय क्षति हुनबाट रोकिएको प्रहरीले जनाएको छ । 
 
अस्पतालमा चहलपहल भइरहेका बेला एक्कासि आगलागी भएपछि केहीबेर अस्पताल परिसरमा भागदौड मच्चिएको थियो । आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।
 
भूकम्पले उठिवास लगाएपछि टेन्टको सहारा लिएर बालबच्चासहित अस्पताल परिसरमा बस्दै आइरहेकोमा आगलागीपछि आफ्नो परिवारको विजोग भएको अस्पतालका कर्मचारी खतिवडाले बताए । खतिवडाको तीन बच्चा र श्रीमान् श्रीमतीसहित पाँचजनाको परिवार टेन्टमा बस्दै आएको थियो । खतिवडाको जस्तै अन्यको पनि विजोग भएको उनीहरुले बताएका छन् ।