मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

धर्मसम्बन्धी व्यवस्थासहितको धारा ४ पारित

धर्मसम्बन्धी व्यवस्थासहितको धारा ४ पारित


काठमाडौँ । ‘नेपालको  संविधानको परिमार्जित विधेयक, २०७२’ माथि सदस्यहरुबाट प्राप्त संशोधनहरुलाई संविधानसभाको बैठकमा निर्णयार्थ प्रस्तुत गर्ने क्रम जारी रहेको छ ।
 
सो धारामा प्रमुख तीन राजनीतिक दलका तर्फबाट प्रस्तुत भएको ‘धर्मनिरपेक्षता भन्नाले सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षणलगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनुपर्छ’ भनिएको संशोधन प्रस्ताव पारित भएको हो । सो प्रस्ताव निर्णयार्थ प्रस्तुत हुुँदा दुई तिहाइ बहुमतले स्वीकृत गरेको छ । स्वीकृत भएसँगै सो पारित प्रस्ताव विधेयकको अङ्ग बनेको घोषणा गरियो । 
 
नेपाल स्वतन्त्र, अभिभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो । सो धाराका बारेमा २१ वटा संशोधनहरु परेका थिए ।
 
उक्त विधेयकको धारा एक र दुईमा कसैको संशोधन नभएकाले संविधानसभाको सोमबारको बैठकमा सर्वसम्मतरुपमा पारित भएको थियो ।  
 
प्रमुख तीन दलको संशोधन प्रस्तावलाई बैठकले स्वीकृत गरेकाले विधेयकको धारा ३ दुई तिहाई बहुमतका आधारमा पारित भयो । 
 
आजको बैठकको प्रारम्भमा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ को धारा ४ माथि सदस्यहरुले दर्ता गराउनुभएको संशोधनको प्रस्ताव निर्णयार्थ पेस  गर्नुभयो ।  
 
सो क्रममा दीपक बोहरा, रामकुमार राई, शिवलाल थापाले पेस गर्नुभएको संशोधन प्रस्तावलाई बैठकले बहुमतले अस्वीकार गरेको थियो ।
 
उक्त धाराको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राख्नुभएको नेपाल स्वतन्त्र अभिभाज्य, सार्वभौमसत्ता सम्पन्न, समावेशी, प्रजातान्त्रिक सनातन धर्मसापेक्ष हिन्दू अधिराज्य हो भनेर राख्नुभएको प्रस्तावलाई पनि बैठकले अस्वीकार गरेको थियो । 
 
सो प्रस्तावलाई ध्वनि मतका आधारमा बहुमतले अस्वीकार गरेपछि अध्यक्ष थापासहित राप्रपा नेपालका सभासद्हरु आ–आफ्नो स्थानबाट उठेर विरोध जनाउनुभएको थियो । सोलगत्तै सभाध्यक्ष नेम्वाङले कुल सदस्य सङ्ख्याको कम्तीमा दश प्रतिशत सदस्यहरु उभिएर समर्थन जनाउनुपर्नेमा त्यो सङ्ख्या अपुग भएकाले प्रस्ताव अस्वीकृत भएको र मत विभाजन गरिरहनु नपर्ने जानकारी गराउनुभएको थियो । 
 
सो धाराका बारेमा यशोदाकुमारी लामा, भाष्कर भद्रा, कुमार खड्का, हरिचरण साह, अनुराधा थापा मगरका संशोधन प्रस्ताव अस्वीकृत भएको थियो । संविधानसभाको बैठक अहिले जारी छ । रासस