मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सिरहा अनिश्चितकालका लागि निषेधित क्षेत्र घोषणा

सिरहा अनिश्चितकालका लागि निषेधित क्षेत्र घोषणा


लहान । आन्दोलन हिंसात्मक गएको भन्दै जिल्ला सुरक्षा समितिले सिरहा जिल्लाका केही भागलाई अनिश्चितकालका लागि निषेधित क्षेत्र घोषणा गरेको छ ।

जिल्ला प्रशासन कार्यालय सिरहाले भर्खर सार्वजनिक सूचना जारी गर्दै आन्दोलन हिंसात्मक देखिएकाले जिल्लाको शान्ति सुरक्षा र यातायात सञ्चालन गराउन आज मध्याह्न १२ बजेदेखि अर्को आदेश नभएसम्मका लागि जिल्लाको पूर्वी सीमा बलानदेखि पश्चिम कमला नदी र दक्षिण भारतीय सीमाको लचकासम्म निषेधित क्षेत्र घोषणा गरेको जनाएको छ ।

सूचनामा बलान नदीदेखि कमलासम्म दायाँबायाँ पाँच सय मिटर क्षेत्र र दक्षिण भारतीय सीमा क्षेत्रको लचकासम्म निषेधित क्षेत्र घोषणा गरिएको र निषेधित क्षेत्रमा सवारी साधन आवतजावतमा कुनै अवरोध नगर्न आग्रह गरिएको छ ।

बुधबार साँझ प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा प्रहरीको गोली लागेर आठजना प्रदर्शनकारी घाइते भएका थिए । ट्राफिक प्रहरी कार्यालय सिरहाको लहान नगरपालिका– १ स्थित भाडाको घरमा सञ्चालित जिल्ला ट्राफिक प्रहरी कार्यालयमा आज बिहान उत्तेजित युवाको एक समूहले १० बजेतिर आगजनी र तोडफोड गर्नुका साथै एउटा मोटरसाइकल जलाएपछि अवस्था तनावग्रस्त बनेको हो ।

सुरक्षाका कारण बुधबार साँझदेखि नै ट्राफिक प्रहरीहरु कार्यालय खाली गरेर इलाका प्रहरी कार्यालयमा सरेका थिए । रासस