मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

संविधान निर्माणमात्र बिपीप्रति सच्चा सम्मान : उपसभापति पौडेल

संविधान निर्माणमात्र बिपीप्रति सच्चा सम्मान : उपसभापति पौडेल


काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले संविधानसभाबाट संविधान बनाउन सकिएमात्र जननायक बिपी कोइरालाप्रति सच्चा सम्मान हुने बताउनुभएको छ ।
 
कोइरालाको १०१औँ जन्मजयन्तीका सन्दर्भमा प्रजातान्त्रिक विचार समाजले आज यहाँ आयोजना गरेको ‘राष्ट्रियता, प्रजातन्त्र र समाजवाद’ विषयक कार्यक्रममा उपसभापति पौडेलले संविधानसभाबाट समयमानै लोकतान्त्रिक संविधान जारी गर्नसके आजीवन प्रजातन्त्रको लडाइँ लड्नुभएका बिपीको सपना पूरा हुने बताउनुभयो ।  
 
उहाँले संविधान लेखनको कार्य अन्तिम चरणमा प्रवेश गरेको अवगत गराउँदै अब बन्ने नयाँ संविधानमा लोकतन्त्र, मौलिक अधिकार, समावेशीतासहितका प्रावधानले दक्षिण एसियाकै उत्कृष्ट हुने दाबी गर्नुभयो । उपसभापति पौडेलले संविधान निर्माण गर्नका लागि सबै एकजुट हुनुपर्ने भन्दै आन्दोलनरत दललाई वार्तामा आउन आग्रह गर्नुभयो । 
 
केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले लोकतन्त्रका संस्थापक बिपीको आदर्श र सिद्धान्तलाई पार्टीले कत्तिको लागू ग¥यो गरेन भनेर मूल्याङ्कन गर्नु आवश्यक रहेको बताउनुभयो ।
 
केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपाली काँग्रेसका धेरैजसो सभासद् तराई क्षेत्रबाट प्रतिनिधित्व गर्ने भएकाले पार्टीको अस्तित्व जोगाउन भए पनि वार्ता र संवादबाट अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले संविधानसभाको प्रक्रिया स्थगित गरेर सेना फिर्ता बोलाएर वार्ताको माध्यमबाट निकास खोज्नुपर्ने धारणा व्यक्त गर्नुभयो । 
 
समाजका उपाध्यक्ष एवम् राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष कुलचन्द्र वाग्लेले बिपीको विचारलाई आत्मसात् गरेर अगाडि बढ्न सकिए मुलुकको अहिलेको समस्याको निकास खोज्न सहज हुने धारणा राख्नुभयो । 
 
समाजका अध्यक्ष डा केदारनरसिंह केसीको अध्यक्षतामा भएको कार्यक्रममा काँग्रेसका नेता लक्ष्मणप्रसाद घिमिरे, सभासद् सकलदेवी सुतियार, अधिवक्ता रामनारायण देव, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा तीर्थ खनिया र संस्कृत विश्वविद्यालयका उपकुलपति डा कुलप्रसाद कोइरालालगायतले शैक्षिक क्षेत्रमार्फत बिपी कोइरालाका सिद्धान्तलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउनु आवश्यक रहेको बताउनुभयो । 
 
दुई उपकुलपति सम्मानित 
 
कार्यक्रममा विचार समाजले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा तीर्थ खनिया र नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति डा कुलप्रसाद कोइरालालाई सम्मान गरेको छ । प्रजातान्त्रिक विचारलाई आत्मसात् गर्दै विश्वविद्यालयको उपकुलपति पदमा पुगेको भन्दै समाजले सम्मान गरेको हो । रासस