मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

वारपारको स्थितिमा हिन्दूराष्ट्रको आन्दोलन

वारपारको स्थितिमा हिन्दूराष्ट्रको आन्दोलन


काठमाडौं । संविधानको मस्यौदामा सुझाव दिनेक्रममा अब बन्ने संविधानमा नेपाललाई हिन्दूराष्ट्र कै रूपमा उल्लेख गरियोस भन्ने सुझाव ९८ प्रतिशतभन्दा बढी प्राप्त भएको थियो । हिन्दूराष्ट्रको दबाबको लागि देशभरि विभिन्न आन्दोलनहरू पनि भए र हुँदै आएका छन् । तर, नेपालीको चाहनाबमोजिम नभएर विदेशीको चाहनाबमोजिम संविधान निर्माण गर्न गइरहेको राजनीतिक शक्तिले नेपालीको भन्दा विदेशीकै ईशारामा संविधान निर्माण गर्न खोजिरहेको देखिएको छ । सुनिन्छ धर्मनिरपेक्ष संविधान जारी गराउन विदेशीहरूले नेपाली राजनीतिक शक्तिमाथि ठूलो धनराशिको प्रयोग गरिरहेका छन् ।    
 
अर्कोतर्फ आफ्नो धर्म, मौलिकता, विश्वकै एकमात्र हिन्दूराष्ट्रको परिचय पहिचान एवम् सान र मान बचाएर आउँदो पुस्तालाई हस्तान्तरण गर्न धर्मदर्शन, संस्कृति, सभ्यता, परम्परा र मौलिकतालाई संरक्षण गर्नुपर्छ भन्ने पक्ष दिनरात हिन्दूराष्ट्र कायम गराउनको लागि लागि परिरहेको छ । 
 
यसै क्रममा कुनै पनि हालतमा नेपाललाई बन्ने संविधानमा हिन्दूराष्ट्र उल्लेख गराएर छाड्ने प्रतिबद्धताका साथमा विभिन्न कार्यक्रमहरू संपादन भइरहेका पनि छन् । यसै सन्दर्भमा काठमाडौंको खुलामञ्चमा चार जना हिन्दू युवाहरूले हिन्दूराष्ट्र कायम गर्नुपर्ने, गोहत्या बन्द गर्नुपर्ने, गौहत्या गर्नेलाई आजीवन कारावासको व्यवस्था गर्नुपर्ने, धर्मपरिवर्तनमा प्रतिबन्ध लगाउनुपर्ने जस्ता सातसूत्रीय माग राखी आमरण अनसन बसेको बुधवार दश दिन पूरा भएको छ । 
अनशनकारी खेमनाथ आचार्य, सागर कटुवाल, प्रेमनिधि भारद्वाज र कमलप्रसाद जोशीको स्वास्थ्यमा क्रमशः समस्या देखिन थालेको नियमित स्वास्थ्य परीक्षणमा खटिनु भएका चिकित्सक डा. रामप्रसाद उप्रेतीले बताउनु भएको छ । जसमा कमलप्रसाद जोशी तीनचार पटक फेन्ट भएको, खेमनाथ आचार्यको शरीरमा एलार्जिक समस्या देखिएको, सागर कटुवाललाई पटक–पटक वमन भएको बताइएको छ । रक्तपरीक्षणमा अनसनकारीको शरीरमा सोडियम (लवणतत्त्व) र पोटासियम निकै कम देखिएको जनाइएको छ । 
 
सदियौँदेखिको पहिचान विश्वको एकमात्र हिन्दूराष्ट्र कायम गर्ने मागको आमरण अनसनलाई दश–दश दिनसम्म राज्य–सरकार तथा सम्बन्धित क्षेत्रले खासै चासो देखाएको पाइँदैन । तर यता अनसनमा बसेका अनसनकारीले स्वास्थ्य स्थिति नाजुक बन्दै गइरहे पनि हिन्दूराष्ट्रको लागि पार्टीहरू प्रतिबद्ध नभएसम्म आफूहरूले अनसन नटोड्ने बताएका छन् । 
 
अनशनकारी भन्छन् ‘बरु यहाँबाट हाम्रो लाश उठ्ला तर हामी हिन्दूराष्ट्र नलेखाई उठ्दैनौं’ । कतै अनशन त कतै विभिन्न खालका शान्तिपूर्ण प्रदर्शनहरू गर्दा पनि सम्बन्धित निकायले वेवास्ता गरेपछि सनातनीहरू अक्रोशित हुनपुगेका छन् । 
 
दिनहुँ आमरण अनसन क्षेत्रमा पुग्ने ॐकार परिवार हिन्दू, बौद्ध, शिख, जैन, किराँतलगायत मुस्लिम समुदायका प्रतिनिधिले समेत नेपाललाई हिन्दूराष्ट्रको रुपमै कायम गर्नुपर्नेमा आफ्नो अभिव्यक्ति दिइरहेको देखिन्छ । यदाकदा धर्मनिरपेक्षको पक्षमा उभिँदा विदेशी र विदेशी धर्मका एजेण्टहरूबाट पाइने आर्थिक प्रलोभनमा परेका केही धर्मनिरपेक्षवादीहरू बाहेकका नेपाली नागरिकले हिन्दू राष्ट्र नै हुनुपर्छ भन्ने चाहन्छन् । 
 
यसैबीचमा धर्मनिरपेक्षको पक्षमा बुद्धधर्मको प्रतिनिधित्त्व देखाउन तिब्बतीयन भिक्षु र मुस्लिमहरूको प्रतिनिधित्त्व देखाउन नेपालमा बस्दै आएका विदेशी मुस्लिमहरू लगायतको सहभागितामा केही दिन अघि धर्मनिरपेक्षवादीहरूको पनि प्रदर्शन भने नभएको होइन । 
 
धर्मनिरपेक्षवादीको सबै चाला बुझे पनि सनातनीहरूको शान्तिभावनाले गर्दा कुनै उग्ररुप नलिएको देखिन्छ । तर, केही दिन अघि प्रधानमन्त्री सुशिल कोइरालालाई ज्ञापन पत्र बुझाउन जाँदा स्वामी ज्ञानानन्द सरस्वतीले प्रधानमन्त्रीलाई भन्नु भएको कुरा यहाँ स्मरण गर्न जरुरी देखिएको छ । स्वामी ज्ञानानन्दले प्रधानमन्त्रीसँग ‘अहिलेसम्म धार्मिक संघर्षको नेतृत्त्व सन्तहरूले गरेको हुनाले आन्दोलनहरू शान्तिपूर्ण रहेको तर धार्मिक क्षेत्रको मागलाई सरकार र सम्बन्धित क्षेत्रले सुन्दैन भने, सन्तहरूको आव्हानको अवज्ञा देशका राजनीतिक नेताहरूबाट हुन्छ भने, विश्वको एकमात्र हिन्दूराष्ट्रको पहिचानलाई बचाउने कर्तव्य सबै नागरिकको हुनजान्छ, शान्तशैलीको आन्दोलनभन्दा अन्य कडा आन्दोलनको नेतृत्त्व सन्तहरूले गर्न उपयुक्त नहुने भएकोले अब आन्दोलनको नेतृत्त्व सन्तहरूले जनतालाई सुम्पिन पर्ने स्थिति आयो, क्रमशः बिग्रदै गरेको भयावह स्थितिको  जिम्मेवारी सरकार र राजनीतिक क्षेत्रले लिनुपर्छ’ भन्नु भएको थियो । 
 
साँच्चि नै अहिलेसम्म हिन्दूराष्ट्रको मामलामा जनता सन्तगुरुहरूको आग्रह अनुसार अनुशासित भएकै हुन् । अनुशासित तवरबाट निकालिएको आवाजलाई नसुनेर फेरि पनि राजनीतिक क्षेत्रले हास्यास्पद परिभाषा गर्दै संविधानको मस्यौदामा धर्मनिरपेक्ष नै राखेर संशोधनको प्रस्ताव ल्याएको छ । यस्ता विदेशीको पिछलगुवा मनस्थितिले ल्याएको प्रस्ताव नेपाली जनताले मान्ने अवस्था देखिँदैन । यसको प्रतिकार गर्न नेपाली जनता सशक्त भएर सडकमा आउने अनुमान गरिएको छ ।
 
नब्बे प्रतिशतभन्दा बढी जनताको आवाजलाई नसुने पछि त्यसको प्रतिक्रिया स्वरुप निस्कने आन्दोलनको आँधीलाई सम्बन्धित निकायले कसरी सम्हाल्न सक्छ ? परिस्थिति गम्भीर बन्नसक्ने देखिन्छ । खुरुक्क राजनीतिक परिवर्तनका उपलब्धिलाई संस्थागत गर्न छाडेर जनताको चाहना विपरित विदेशीको प्रलोभनमा परेर केही नेताहरू धर्मनिरपेक्षताकै पछाडि कुदेको देख्दा लाग्छ संविधान नेपाली जनतालाई होइन विदेशीको लागि बन्दैछ । 
 
यस्तो चालालाई नेपाली जनताले टुलुटुलु हेरेर नबस्ने र सशक्त वार–पारको आन्दोलन छेड्ने तयारी भइरहेको सम्बद्ध अधिकारीहरू बताउँछन् । हिन्दूराष्ट्रको मागलाई राजनीतिक क्षेत्रले सम्बोधन नगर्ने हो भने परिस्थिति विषम बन्नसक्ने लक्षण देखिन्छ । हिन्दूराष्ट्र नभए जनताले नमान्ने, हिन्दूराष्ट्र हुनलाई राजनीतिक क्षेत्रलाई तिनका विदेशी प्रभुले नदिने हुँदा कतै प्राप्त राजनीतिक उपलब्धि गुम्न पनि सक्ने त होइन भन्ने भय बढ्दै गएको पनि छ ।