टीकापुर । केही दिन अघि टीकापुरमा हिंसात्मक घटनायता त्यस आसपासको क्षेत्रमा अहिले विस्तारै सर्वसाधारणको चहलपहल बढ्न थालेको छ ।
टीकापुर क्षेत्रमा लगाइएको निषेधाज्ञा दिनहुँ खुकुलो बनाइएपछि सर्वसाधारणको चहलपहल बढेको स्थानीय व्यवसायी रामप्रसाद चौधरीले बताउनुभयो ।
निषेधाज्ञा र बन्दले जनजीवन कष्टकर बनाएपनि सामाजिक सद्भावमा भने कुनै प्रतिकूल प्रभाव नपारेको स्थानीय बासिन्दाले बताउन थालेका छन् ।
“टीकापुर नजिकको जोशीपुर गाविसमा कुनै किसिमको डरत्रास छैन,” जोशीपुर जेसिजका अध्यक्ष सन्तोष पौडेलले भन्नुभयो – “अहिले जोशीपुरमा विस्तारै पसल खुल्न थालेका छन् ।” यद्यपि टीकापुर नजिकको अर्को गाविस थापापुरको अवस्थामा खासै सुधार आउन सकेको स्थानीय बासिन्दाले बताएका छन् ।
थापापुरको नवलपुरबाट राजेश चौधरी, बृजमोहन चौधरीलाई सुरक्षाकर्मीले पक्राउ गरेको स्थानीय बासिन्दाले आरोप लगाएका छन् । सुरक्षाकर्मी घटनामा संलग्न व्यक्तिको खोजीका लागि निरन्तर रुपमा आउन थालेपछि कतिपय स्थानीय युवा गाउँ छाडेर जान थालेको स्थानीयवासी तेजराम चौधरीले बताउनुभयो ।
यही भदौ ७ गते भएको हिंसात्मक घटनापछि टीकापुर क्षेत्रमा निरन्तर निषेधाज्ञा लाग्दै आएको छ । पछिल्लो केही दिनदेखि बिहानको समयमा स्थानीय प्रशासनले केही घण्टा निषेधाज्ञा खुकुलो पारेको छ । घटनापछि बिग्रिएको सद्भावलाई पुनः पुरानै अवस्थामा फर्काउन प्रभावकारी पहल हुन नसकेको स्थानीय जनताले गुनासो गरेका छन् । रासस
प्रतिक्रिया