मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

संविधान निर्माण भएमात्र बिपीप्रति सच्चा सम्मान

संविधान निर्माण भएमात्र बिपीप्रति सच्चा सम्मान


काठमाडौँ । “राष्ट्रलाई सङ्कट भएको बेला धर्तिको माटो उठाउँ सोध, जे जवाफ आँउछ त्यही गर्नुपर्छ” यो भनाई नेपाली प्रजातान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व विश्वेश्वरप्रसाद कोइरालाको हो । 
 
देश अहिले संविधान निर्माणको अन्तिम क्षणमा पुगेको र राजनीतिक सङक्रमणबाट गुज्रिरहेको अवस्थामा जननायक कोइरालाको सो वाणी अझ सान्दर्भिक भएको छ ।
 
स्वर्गीय कोइरालाको एकसय एकऔँ जन्मजयन्तीको सन्दर्भमा उहाँकै सम्झनामा आज बिपी कोइराला स्मृति ट्रष्टले आयोजना गरेको कार्यक्रममा वक्ताहरुले समयमै संविधान जारी भएमात्र कोइरालाप्रति सच्चा सम्मान हुने धारणा व्यक्त गर्नुभयो । कोइरालाको जन्मजयन्ती भदौ २४ गते हो ।
 
नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले संविधानसभाबाट समयमानै लोकतान्त्रिक संविधान जारी गर्न सके आजीवन प्रजातन्त्रको लडाईँ लड्नुभएका बिपीको सपना पुरा हुने बताउनुभयो ।
 
उहाँले संविधान लेखनको कार्य अन्तिम चरणमा प्रवेश गरेको अवगत गराउँदै अब बन्ने नयाँ संविधानमा लोकतान्त्रिक व्यवस्था, मौलिक अधिकार, समावेशीतासहितका प्रावधानले दक्षिण एसियाकै उत्कृष्ट हुने दाबी गर्नुभयो । 
 
उपसभापति पौडेलले नेपालको राजनीतिक परिस्थितिमा सर्वोत्कृष्ट व्यवस्था भनी बिपीले प्रतिपादन गर्नुभएको समाजवादलाई उहाँकै अनुयायीबाट हटाउने काम भएको भन्दै गुनासो पोख्नुभयो । 
 
नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाकै नेतृत्वमा २००७ सालमा मुलुकमा जहानिया राणा शासनको अन्त्य भई प्रजातन्त्रको सूत्रपात भएको हो । नेपाली काँग्रेसका पूर्वसभापतिसमेत रहनुभएका स्वर्गीय कोइराला नेपालको साहित्यिक फाँटमा पनि उत्तिकै सफल व्यक्तित्व हुनुहुन्छ । 
 
कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य एवम् अर्थमन्त्री डा रामशरण महतले सीमाङ्कनको विषयलाई लिएर भएका आन्दोलन, हड्ताल र बन्दले मुलुकको अर्थव्यवस्था तहसनहस भएको भन्दै बन्द हड्तालको विकल्प खोज्नुपर्ने सुझाव दिनुभयो । 
 
ट्रष्टका महासचिव एवम्् काँग्रेसका सभासद्् रामचन्द्र पोखरेलले जननिर्वाचित संसदबाट संविधान जारी भएमात्र बिपीको सपना पुरा हुने धारणा राख्नु भयो ।  
 
साहित्यकार डा अभि सुवेदी, तुलसी दिवसलगायतले राजनीतिसँगै नेपाली साहित्यलाई पनि बिपीले अन्तराष्ट्रिय क्षेत्रमा परिचित गराएको चर्चा गर्नुभयो । 
 
दुई व्यक्तित्व सम्मानित
कार्यक्रममा नेपाली साहित्य र राजनीतिमा विशेष योगदान पु¥याएको भन्दै ट्रष्टले दुई व्यक्तिलाई सम्मान गरेको छ ।  कवि एवम्् नाटककार गोपाल पराजुली र राजनीतिज्ञ तारानाथ कोइरालालाई सम्मान गरिएको हो । 
 
साहित्य तथा राजनीति दुबै क्षेत्रमा प्रखर व्यक्तित्व कोइरालाको स्मृतिमा बिपी साहित्य सम्मान पराजुली र बिपी सेनानी सम्मान कोइरालालाई प्रदान गरिएको हो । 
 
काठमाडौँमा जन्मेर नेपाली साहित्य क्षेत्रलाई अगाडि बढाउन ठूलो सहयोग पु¥याएको भन्दै पराजुलीलाई रु एकलाख एक हजार नगदसहित सम्मान गरिएको छ । सम्मानित पराजुलीले दिशाहिन आकास, समानान्तर सडक, हिमालमाथी आलेख, शताब्दीको एउटा पत्रलगायतका थुप्रै कृतिहरु प्रकाशित गर्नुभएको छ । 
 
लमजुङमा जन्मेर नेपालको प्रजातान्त्रिक आन्दोलनमा बिपीको सहयात्रीको रुपमा रहेर काम गर्नुभएको भन्दै कोइरालालाई रु २५ हजार नगदसहित सम्मान गरिएको छ । सम्मानित कोइरालाले प्रजातन्त्रको लडाँईमा आफ्नो खुट्टा गुमाउनुभएको थियो । 
 
यस्तै बिपीको जन्मशताब्दीको अवसरमा बिपीको रचनामाथि विद्यावारिधी गर्नुभएका डा देवचन्द्र मिश्रलाई सम्मान गरिएको छ । उहाँले “बिपी कोइराला और नेपाली राजनीतिक” विषयमा विद्यावारिधी गर्नुभएको थियो । रासस