मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

आज कृष्णाष्टमी देशभर धूमधामसँग मनाइँदै

आज कृष्णाष्टमी देशभर धूमधामसँग मनाइँदै


काठमाडौँ । ज्ञानयोग, भक्तियोग र कर्मयोगका प्रणेता कृष्ण जन्माष्टमी मङ्गलबार भाद्र कृष्णाष्टमीका दिन मनाइँदैछ । 
 
द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा कृष्णको जन्म भएको सम्झनामा आजको दिन यो पर्व मनाउने गरिएको जनविश्वास छ ।
 
मामा कंसलगायतको अत्याचारबाट मानवजातिलाई मुक्ति दिनका लागि वासुदेव र देवकीको आठौँ गर्भबाट विष्णुको आठौँ अवतारका रुपमा श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ । धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार कृष्णले पापका पर्याय बनेका कंसको बध गरी हजुरबुबा उग्रसेन, मातापिता देवकी एवम् वासुदेवलाई कारागारमुक्त गरेका थिए ।
 
बाल्यकालदेखि नै विचित्रलीला देखाएका कृष्णले गोपिनी र राधाजस्ती किशोरीसँग गरेको प्रेमप्रसङ्गका कारण यो महिना प्रेमोत्सव अर्थात् झुलनोत्सव)का रुपमा पनि मनाउने गरिन्छ । अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानव जातिलाई सुरक्षित बनाउने उद्देश्यले विष्णुले मानिसका अवतारका रुपमा श्रीकृष्ण भई धरतीमा अवतरण गरेको मानिन्छ । 
 
कृष्णले आजीवन सत्यका पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई पे्ररित गरेका थिए । कौरव र पाण्डवका बीचमा कुरुक्षेत्रमा भएको धर्मयुद्धमा सत्यका पक्षमा रहेका पाँच पाण्डवमध्येका अर्जुनको सारथीका रुपमा कृष्णले युद्धको शिक्षा थिए । 
 
मानव जातिलाई सुरक्षित पारी धर्मको रक्षाका लागि धरतीमा अवतरित कृष्णले कंस, जरासन्ध र शिशुपाल आदि दानवी प्रवृत्तिलाई अन्त्य गरेका थिए । उनले श्रीमद्भागवत् गीतामा भनेका छन्, “यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारतः अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ।”(अर्थात् जब जब भारत वर्षमा धर्मको लोप हुन्छ र पाप बढ्दै जान्छ, त्यस बेलामा धर्मको रक्षाका लागि म मानवरुप धारण गरेर धरतीमा जन्म लिनेछु ) 
 
पाटनको मङ्गलबजारस्थित श्रीकृष्ण मन्दिर, काठमाडाँैको पूर्वी भेगस्थित गोठाटारमा रहेको नवतनधाम, बूढानीलकण्ठस्थित कृष्ण भावनामृत सङ्घको मन्दिर, हाँडीगाउँस्थित पीपलबोटभित्र रहेको कृष्णमन्दिरलगायत तथा देशभरका अन्य कृष्ण मन्दिरमा पूजा आराधना एवम् रथयात्रा र शोभायात्रा गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिन्छ । 
 
सो पर्वका अवसरमा महिलाहरू व्रत बसी राति कृष्ण जन्मिएको सम्झनामा पूजाआजा गर्ने र रातभर जाग्राम बसेर नाचगान तथा कृष्णको भक्ति सङ्गीत गाउँछन् । यसो गरेमा श्रीकृष्ण प्रसन्न भई मनोवाञ्छित फल प्राप्त हुने धार्मिक विश्वास छ । रासस