मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

भूकम्पको पीडासँगै सिन्धुपाल्चोकवासीलाई पहिरोको पिरलो

भूकम्पको पीडासँगै सिन्धुपाल्चोकवासीलाई पहिरोको पिरलो


सिन्धुपाल्चोक । वैशाख १२ को महाभूकम्पले सिन्धुपाल्चोक जिल्लाका विभिन्न बस्तीमा चिराचिरा परेर कमजोर पारेको जमिनमा वर्षासँगै पहिरो जान थालेपछि जिल्लाका अधिकांश क्षेत्रका स्थानीयवासीले त्रास खेप्नु परेको छ । घर भत्किए पनि अस्थायी आवासका लागि बनाइएका टहरासमेत पहिरोले लग्ने हो कि भन्ने चिन्ता जिल्लावासीमा रहेको छ ।
 
भूकम्पको पीडासँगै वर्षायाममा भूकम्पले कमजोर बनाएका जमिनमा पहिरो जान थालेपछि जिल्लाका स्थानीयवासी त्रासमा जीवन बिताइरहेका छन् । जिल्लाको उत्तरी हिमाली गाउँवासीलाई पहिरोको चिन्ताले सताएको हो । जिल्लाका हेलम्बु, भोताङ, बराम्ची, बरुवा, थाङ्पालधाप, गुन्सा, पाङ्ताङ, हगाम, गोल्चे, सेलाङलगायतका गाउँमा बनाइएका टहरा पहिरोले बगाउला भन्ने चिन्तामा डर र चिन्ताको भरमा बस्नुपरेको स्थानीयवासीको गुनासो छ ।
 
भूकम्पपीडितहरु टहरोमात्रै नभई कतै जानु पर्दासमेत पहिरो आएर आफैँलाई थिच्न सक्ने सम्भावना रहेको बताउँछन् । भूकम्पका कारण जताततै पहिरो गएकाले कतै हिँडडुल गर्नसक्ने अवस्था नरहेको र भूकम्पले जमिन चिराचिरा पारेको जमिनभित्र पानी पसेको हुँदा कुनै पनि बेला पहिरो जान सक्ने अवस्था रहेको पाङ्ताङका गाविसका स्थानीयवासी लक्ष्मण तामाङले बताउनुभयो ।
 
अविरल वर्षासँगै जिल्लाका अधिकांश क्षेत्रमा लगातार पहिरो गइरहेको छ । जिल्लाको हिमाली गाउँ ओखरेनी जाने छोटो बाटोमा पहिरोको जोखिम बढेपछि स्थानीयवासी लामो दूरीको पैदलयात्रा गर्न बाध्य रहेको बताउँछन् ।
 
टहरोमा बस्दै आएका भूकम्पपीडितलाई वर्षाले निकै सास्ती दिएको छ भने कतिपय गाविसका भूकम्पपीडित पहिरोको जोखिमका कारण विस्थापित भएका छन् । सरकारले अहिलेसम्म भूकम्पबाट प्रभावित हेलम्बु क्षेत्रबाट तिम्बुफाँट, गुम्बाबाट पाङ्ताङ, गोल्चेबाट वैकुण्ठेमा ५६९ जना, जलवीरे, बराम्चीका ३४२ जनालाई कोइरालाडाँडामा र गोल्चेबाट सेलाङ, र बाह्रबिसे–७ बाट सरकारले स्थानीय रुम्चीटोलमा स्थानान्तरण गरिसकेको छ ।
 
भूकम्पबाट क्षतिग्रस्त र धाँजा फाटेका बस्तीमा पहिरो जान सक्ने सम्भावना देखेपछि त्यस्ता स्थानबाट स्थानान्तरण सुरु गरिएको प्रमुख जिल्ला अधिकारी बलभद्र गिरीले बताउनुभयो । उहाँका अनुसार जिल्लाका विभिन्न क्षेत्रमा पहिरोको उच्च जोखिम भएपछि जिल्ला दैवीप्रकोप उद्धार समितिले स्थानीयवासीलाई सुरक्षित स्थानमा बस्न सतर्क गराएको छ ।