मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

आन्दोलन छाडेर संविधान निर्माण प्रक्रियामा सहभागी हुन प्रमको आग्रह

आन्दोलन छाडेर संविधान निर्माण प्रक्रियामा सहभागी हुन प्रमको आग्रह


काठमाडौँ । प्रधानमन्त्री सुशील कोइरालाले सडक आन्दोलन छाडेर संविधान निर्माण प्रक्रियामा सहभागी हुन थारू कल्याणकारी सभा  र थरुहट/थारूवान् संयुक्त सङ्घर्ष समितिलाई आग्रह गर्नुभएको छ । 
 
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा थारू सभासद् तथा सो समुदायका अगुवासँग आज भएको छलफलमा उहाँले मुलुकको आवश्यकता र चाहनालाई सम्बोधन गरी संविधान लेखन प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउनु आजको आवश्यकता भएको बताउनुभयो । 
 
प्रधानमन्त्री कोइरालाले नेपाली जनताले लामो समयदेखि लोकतान्त्रिक शासन व्यवस्थाका लागि गरेको आन्दोलनबाट प्राप्त उपलब्धिलाई संविधानमा लिपिबद्ध गरेर मुलुकमा शान्ति र सुव्यवस्था कायम गर्दै विकासको मार्गमा जाने अभियानमा सबै सरिक हुन आग्रह गर्नुभएको थारू कल्याणकारी सभा  र थरुहट÷थारूवान् संयुक्त सङ्घर्ष समितिका प्रवक्ता अमनलाल मोदीले जानकारी दिनुभयो । 
 
प्रधानमन्त्रीले मुलुकमा ठूलो राजनीतिक परिवर्तन संस्थागत हुन लागेको संवेदनशील समयमा सबैले शान्ति र अमनचयन कायम गर्न संयमता अपनाउनुपर्ने उल्लेख गर्नुभयो । 
 
उहाँले कैलालीमा भएको दुखद घटनाको उल्लेख गर्दै आपसी वार्ता, सहमति, सहकार्य, एकता र मेलमिलापको माध्यमबाट सबै समस्याको समाधान गर्न सकिने उल्लेख गर्नुभयो । प्रधानमन्त्री कोइरालाले मुलुकले यति बेला शान्ति, एकता, सद्भाव र सहिष्णुताको अपेक्षा गरेको बताउनुभयो ।
 
प्रधानमन्त्री कोइरालासँग छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभासद् मोदीले थारू बाहुल्य क्षेत्रमा गरिएको सेना परिचालन फिर्ता हुनुपर्ने, थारू बाहुल्य क्षेत्रलाई मिलाएर उपयुक्त प्रदेश बनाउनुपर्ने, आन्दोलनका क्रममा घाइते भएकालाई निःशुल्क उपचारको व्यवस्था गर्नुपर्नेलगायत सातबुँदे मागको सुनुवाइ भए आफूहरू वार्तामा बस्ने प्रधानमन्त्रीलाई जानकारी गराएको बताउनुभयो । 
 
प्रधानमन्त्रीसँगको छलफलमा सभासद्हरू सन्तकुमार थारू, जनकराज चौधरी लगायतको सहभागिता रहेको थियो । रासस