मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

इजिप्टमा अक्टोबरमा आमनिर्वाचन हुने

इजिप्टमा अक्टोबरमा आमनिर्वाचन हुने


कायरो, १४ भदौ । इजिप्टमा बहु प्रतिक्षित आमनिर्वाचन यही अक्टोबरको १८ तारिखबाट सुरु हुने भएको समाचार छ । निर्वाचन दुई चरणमा हुने बताइएको छ । इजिप्टको निर्वाचन कमिटीले आइतबार साँझ पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार सो निर्वाचान आगामी अक्टोबरको १८ तारिखमा हुने भएको जानकारी गराएको हो ।
 
अक्टोबर र नोभेम्बरमा गरी दुई चरणमा सो निर्वाचन हुने जनाइएको छ । इजिप्टमा रहेका २७ वटा प्रान्तमध्ये पहिलो चरणमा अक्टोबर १८ र दोस्रो दिन १९ अक्टोबरका दिन १३ वटा प्रान्तमा सो निर्वाचन हुनेछ । त्यसैगरी दोस्रो चरणमा नोभेम्बर २२ र २३ मा अर्को अथवा दोस्रो चरणको आमनिर्वाचन हुनेछ र सो निर्वाचन बाँकी १३ प्रान्तमा हुने बताइएको छ । 
 
निर्वाचनका लागि सर्वोच्च अदालतका न्यायाधीश आइमान अब्बासको नेतृत्वमा एक निर्वाचन कमिटी गठन गरिएको छ । सो कमिटीले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा सो बारेमा जानकारी गराइएको हो । अब्बासले सेप्टेम्बर १ देखि निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने काम सुरु हुने र सो समय १२ दिनसम्म रहने जानकारी पनि दिनुभएको छ ।  
 
अगष्टको अन्त्यतिर एक सार्वजनिक कार्यक्रममा नै इजिप्टका राष्ट्रपति अब्देल फताह सिसीले यही सन् २०१५ को अन्त्यसम्ममा देशले नयाँ संसद पाउने बताउनुभएको थियो । सोहीबमोेजिम नै इजिप्टमा आम निर्वाचन हुने भएको छ । इजिप्टमा गएको तीन वर्षदेखि संसद छैन । पछिल्लो समयमा सन् २०११ मा आमनिर्वाचन भएर त्यहाँका नेता मोहम्मद मोर्सी राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो । 
 
तर सो निर्वाचित संसदलाई पनि सन् २०१२ को सर्वोच्च अदालतको आदेशले विघटन गरिदिएको थियो । त्यसपछि इजिप्ट संसदबिहीन भएको छ । लगभग दुई तिहाई बहुमतबाट निर्वाचित राष्ट्रपति मोर्सीलाई अपदस्थ गरी सेनाले शक्ति हातमा लिएको छ । त्यसपछि सैनिक जर्नेल सिसी राष्ट्रपति हुनुभएको हो । 
 
इजिप्टको सैनिक प्रमुखको हैसियतले उहाँले सन् २०१३ को मध्यतिर इजिप्टमा सैनिक कू गर्नुभएको थियो । राष्ट्रपति मोर्सीलाई अपदस्थ गरी हालसम्म नै उहाँ इजिप्टको सरकार प्रमुखका रुपमा पनि रही आउनुभएको छ । मोर्सीको ब्रदरहुड पार्टीले भने वर्तमान सरकारको वैधानिकतामाथि प्रश्न उठाउँदै आएको छ । सो दलले यस सरकारलाई अवैधानिक भन्दै आएको छ । रासस/सिन्ह्वा