मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पहाडी–थारु समुदायबीच सौहार्द्रताको खाँचो

पहाडी–थारु समुदायबीच सौहार्द्रताको खाँचो


टीकापुर (कैलाली) । टीकापुर घटनापछि थारु र पहाडी समुदायका सर्वसाधारणबीच मन चुँडिन थालेकामा दुर्गौलीका भद्रवीर चौधरी निराश छन् । कसैको अभीष्ट पूरा गर्ने नाममा दुई समुदायका बीच द्वन्द्व सिर्जना गराउन खोजिएको उहाँको बुझाइ छ ।
 
‘आफूहरुबीच गहिरो सम्बन्ध थियो’, नेपाली काँग्रेसको राजनीति गर्दै आएका चौधरीले भन्ने, ‘घटनापछिको दोस्रो दिन उपाध्याय थरका आफ्ना पहाडी मूलका सहयोगी मित्रसँग फोनमा कुरा गर्दै गर्दा दुवैले आपसमा पहिलेको जसरी खुलेर कुरा राख्न सकेनौँ ।’
 
  काम विशेषले काठमाडौँ रहेका उपाध्यायले घटना साम्य पार्न पहल गर्न आफूलाई फोनमार्फत् आग्रह गरेको चौधरीले बताए । घटना नघटेको अवस्थामा सद्भावको पहल गर्न सहज हुने भए पनि घटना भइसकेपछि केही गाह्रो हुन्छ, उनले थपे–‘स्थानीयस्तरमा सद्भावको प्रक्रिया बारम्बार दोहो¥याउन सकिएमा थारु–पहाडीबीचको सद्भाव पुरानै अवस्थामा फर्काउन सकिन्छ ।’
 
घटनाप्रति दुर्गौलीका भलमन्सा (थारु समुदायका अगुवा) तेजबहादुर कुमाल पनि दुःखित छन् । ‘नहुनु पर्ने घटना भयो, कुमालले चिन्ता व्यक्त गर्दै भने, ‘थारु–पहाडीबीचको सदियौँदेखिको नमुनाको सम्बन्धलाई पुनःस्थापित गर्न थारु–पहाडीका नेता र अगुवाले पहल गर्नुपर्ने बेला आइसकेको छ ।’
 
घटनालगत्तैबाट दुवै पक्षकाले रातिको समयमा आ–आफ्नो गाउँ टोलमा जाग्राम बस्नुपर्ने अवस्थासम्म सिर्जना गरिएको स्थानीय शिक्षक हेमराज तिमिल्सेनाले बताए । थारु पक्षले आक्रमण गर्न सक्छन् भन्ने त्रास फैलिएकाले पहाडीहरुले र पहाडीहरुले आक्रमण गर्न सक्छन् भनेर थारुहरुले कतिपय गाउँ टोेलमा रातिको समयमा जाग्रम बस्न थालेको तिमिल्सेनाले बताए । 
 
प्रदेश निर्माणको सीमाङ्कनको विषयलाई लिएर आ–आफ्नो अधिकारका लागि दबाब दिन भन्दै यसअघि गरिएको बन्द र प्रदर्शनका क्रममा थारु–पहाडीबीचको सम्बन्धमा खलल पु¥याउने व्यवहार देखाइएको भए पनि टीकापुर नगर क्षेत्रको वसन्ता गाउँमा बसोवास गर्दै आएका थारु र पहाडीबीचको सम्बन्ध भने अझै पनि सुमधुर रहेको छ । 
 
एकले अर्कोलाई सुख दुःखमा साथ दिँदै सँगै बसिरहेका आफूहरुबीचको सम्बन्ध कहिल्यै टुट्न नदिने अठोट वसन्ता गाउँवासीले गरेका छन् । त्यहाँ थारुका ७० र पहाडी समुदायका १० घरपरिवार पहिलेकै जसरी मिलेर बसिरहेका छन् । 
 
आ–आफ्नो अनुकूलको प्रदेश सीमाङ्कन हुनुपर्ने नाममा हुने प्रदर्शनका क्रममा कसैले अझै पनि मिलेर बसेका अधिकांश गाउँ बस्तीका थारु पहाडी समुदायलाई उक्साउन सक्ने खतरा भने यथावत् रहेको स्थानीयवासीको भनाइ रहेको छ  ।
 
कैलाली जिल्लालाई थारुहरुले भनेबमोजिमको प्रदेशमा गाभिएमा पहाडीले आफ्नो अहित देख्ने र भूमि नै छोडेर जानुपर्ने र पहाडीले भने बमोजिमको प्रदेश बनाइएमा थारुहरुले आफ्नो अहित देख्ने र भूमि छोडेर जानुपर्ने गलत सन्देश सर्वसाधारणमा पु¥याइएको कारण यी दुई समुदायबीचको सम्बन्ध चिसिन पुगेको देखिन्छ ।
 
साउन महिनाको अन्तमा टीकापुरमा भएको सभामा केही मधेसी नेताहरुले उत्तेजित मन्तव्य दिएकाले पनि यी समुदायबीच द्वन्द्व बढाउन बल पुगेको स्थानीय कतिपयले बताएका छन् ।    
हिंसात्मक घटनापछि अशान्त बनेको कैलाली जिल्लाका बासिन्दा यतिबेला सामाजिक सद्भावको पर्खाइमा रहेका छन् । तर सद्भाव कायम गर्ने गराउने सवालमा अहिलेसम्म कसैबाट प्रभावकारी पहल हुन सकेको देखिँदैन । 
 
‘उहाँहरुसँग सद्भावका लागि छलफल गराउने प्रयास व्यक्तिगत रुपमा आफूले गरेको भए पनि सफल हुन सकिरहेको छैन, इलाका प्रशासन कार्यालयका प्रमुख सुमन धितालले भने, ‘दुवै पक्षसँग छलफल गर्न सक्ने क्षमताको नेतृत्व नै पाइएको छैन ।’ 
 
थारु–पहाडी दुवै समुदायका अगुवासँग भेट्ने प्रयास गरेकामा छलफलमा सहभागी हुने थारु समुदायका व्यक्ति नै नभेटिएको धितालले बताए । घटनापछि यतिबेला कतिपय थारु र पहाडी बस्तीका घरमा युवा र राजनीति गर्ने उमेरका मानिससँग घरमा भेट हुँदैन ।  कतिपय बस्तीका बासिन्दा सम्भावित झडप हुनसक्ने सन्त्रासमा देखिएका छन् ।  घटनापछि टीकापुर पुगेको राष्ट्रिय मानव अधिकार आयोगको एक टोली घटनाको अध्ययन अनुुसन्धानमा व्यस्त रहेको छ । 
 
प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागाईंले पत्रकार सम्मेलनमार्फत् सामाजिक सद्भाव कायम गराउने काममा सहयोग पु¥याउन सबैसँग आग्रह गरेका छन् । सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा सामाजिक सद्भाव खलबलिने सन्देश सूचना प्रवाह नगर्न सबैसँग आग्रह गर्दै उनले सामाजिक सद्भाव खलबलिने आसयका सूचना सन्देश फैलाएको पाइएमा कानुनबमोजिम कारबाही गरिने पनि बताए । 
 
टीकापुरमा भदौ ७ गते दिउँसो भएको घटनामा आठ प्रहरी र एक बालकको मृत्यु भएको थियो । घटनापछि भएको प्रदर्शनका क्रममा सभासद् जनकराज चौधरीको घरका साथै स्थानीय केही थारु, पहाडी समुदायका व्यक्तिका घर पसलमा तोडफोडसमेत भएको थियो । प्रदर्शनले उग्ररुप लिन थालेपछि उत्पन्न स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा आइतबारसम्म पनि यथावत् रहेको छ । 
 
यस्तै टीकापुर र भजनी–त्रिशक्ति नगर क्षेत्रसहित आसपासका गाविस क्षेत्रलाई दङ्गाग्रस्त क्षेत्र घोषणा गरी सेनासमेत परिचालन गरिएको छ । जिल्लाको सदरमुकाम धनगढीमा पनि हिंसा भड्किने भन्दै लगाइएको निषेधाज्ञा आइतबार छैटौँ दिनसम्म पनि यथावत् रहेको छ । रासस