हिमालय खबर टेक्सास I आईतबार, अगस्ट ३० – अमेरिकी राज्य टेक्सासको ड्यालसमा जनै-पुर्णे पर्व भव्य रूपमा सम्पन्न भएको छ I हजारको हाराहारीमा नेपालीहरु इर्विंग स्थित नेपाली सांस्कृतिक तथा अध्यात्मिक केन्द्र, नेपाली मन्दिरमा जम्मा भै आस्था एवं उल्लासका साथ यो पर्व मनाएको कुरा मन्दिरका गुरु डा. शेखेर पण्डितले हिमालय खबरलाई बताए I पण्डितका अनुसार पोहोरको तुलनामा यसपाली जनै फेर्ने र डोरो बाँध्नेको घुइचो नै थियो I
नेपालीहरुको बाक्लो बसाई रहेको ड्यालस/ फोर्टवोर्थको उक्त नेपाली मन्दिरमा हिजो बिहानैदेखि नेपालीहरु भेला भई जनै फेर्ने, डोरो बाँध्ने कार्य भई रहेको थियो l भक्तजनहरु आफ्नो समय अनुकुल मिलाएर मन्दिरमा आई जनै, डोरो लगाउने काम सजिलोसंग सम्पन्न हुनसकोस भनेर मन्दिरका पण्डित डा. शेखर पण्डित लगाएत थप दुई पण्डितहरु (अच्युत लम्साल र कृष्ण भट्टराई) बिहान ७ बजेदेखि साझ ८ बजेसम्म मन्दिरमा रहने व्यबस्था मिलाइएको पुजा समितिका संयोजक रमेश पोखेरेलले हिमालय खबरलाई बताए l
हिन्दुहरूको धार्मिक तथा साँस्कृतिक पर्व जनै पूर्णिमा नयाँ यज्ञोपवित धारण तथा रक्षा-बन्धन गरी धुमधामका साथ मनाइन्छ । अघिल्लो दिनदेखि नै चोखोनितो गरी एक छाक खाने, सो दिन बिहानै नदी, तलाउमा गई गाईको गोबर तथा तुलसीको माटो लगाई नुहाउने तथा जौ, तिल, कुशद्वारा ऋषि-तर्पण गरी वैदिक विधिपूर्वक मन्त्रिएको नयाँ जनै (यज्ञोपवित) फेर्ने चलन रहेकाले यस पर्वलाई जनै पूर्णिमा भन्ने गरिएको हो ।
रक्षाबन्धन मर्यादा र आत्मा निग्रहद्वारा विजय प्राप्त गर्ने पर्व हो । रक्षासूत्रको बन्धन यस उत्सवको प्रमुख विधान हो । सूत्र आत्माको मर्यादा र संयमको प्रतीक हो ।सूत्र कुनैपनि वस्तुलाई अविच्छिन्न गर्ने माध्यम हो । रक्षाबन्धनको सही अर्थ आफू आत्म स्थितिमा अचल, अडोल भएर पवित्रताको पालन गर्नु हो किनकि पवित्रताद्वारा नै मृत्युमाथि विजय प्राप्त गर्न सकिन्छ।
प्रतिक्रिया