मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

गौरमा मानवअधिकार आयोगको टोलीद्वारा जाँचबुझ

गौरमा मानवअधिकार आयोगको टोलीद्वारा जाँचबुझ


रौतहट । केही सातादेखि संयुक्त लोकतान्त्रिक मोर्चाको आह्वानमा गरिएको बन्द र त्यसपछि उत्पन्न परिस्थितिको बारेमा मानवअधिकार आयोगको टोलीद्वारा जाँचबुझ सुरु गरिएको छ । राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय जनकपुरका निमित्त प्रमुख सुवर्ण कर्माचार्य तथा बुद्धिराज सहनीले गौरमा जारी आन्दोलन, शान्ति सुरक्षाको अवस्था र गत मङ्गलबार प्रहरीको गोली लागि मृत्यु भएका मठिया गाविस–६ का राजकिशोर ठाकुरको सम्बन्धमा स्थलगत अनुसन्धान तथा जाँचबुझ गरेको थियो ।
 
टोलीले जिल्लाका प्रमुख जिल्ला अधिकारीलगायत अन्य सुरक्षा अधिकारी, संयुक्त  लोकतान्त्रिक मोर्चाका नेता तथा कार्यकर्ता र मृतक ठाकुरका परिवारसँग पनि भेटघाट गरेको थियो ।
साथै उक्त टोलीले नेपाल पत्रकार महासङ्घका पदाधिकारी तथा नागरिक समाजसँग पनि पछिल्ला दिनमा विकसित घटना क्रमका बारेमा छलफल गरेको मानवअधिकारकर्मी विपिन गौतमले बताउनुभयो ।
 
राष्ट्रिय मानवअधिकार आयोगको अनुगमन टोलीका सदस्य बुद्धिराज सहनीले घटनास्थल, प्रहरी, अस्पताल, नागरिक समाजलाई अनुगमनको दायरामा ल्याई जाँचबुझ भइरहेको बताउनुभयो । स्थानीय प्रशासनले  सदरमुकाम गौर र गौर चन्द्रनिगाहपुर सडकखण्डलाई दङ्गाग्रस्त क्षेत्र घोषणा गरेपछि आन्दोलनकारी सडकमा देखिएका छैनन् । तर आन्दोलनरत मोर्चाका संयोजक एवम् तमलोपाका जिल्ला अध्यक्ष बाबुलाल साहले मृतकलाई सहिद घोषणा गर्नुपर्ने, उचित क्षतिपूर्तिसहित पाँचबुँदे माग राखेको बताउनुभयो ।
 
मोर्चाको बन्दका कारण १४औँ दिन पनि सदरमुकाम गौरसहित गरुडासम्मका सबै बजार, यातायात, शिक्षण संस्था बन्द अवस्थामा रहेका छन् । प्रदर्शनकारीको उपस्थिति कम भएको र सर्वसाधारणको आवतजावतलाई ध्यानमा राख्दै अन्य दिनभन्दा आज सुरक्षाकर्मीको सङ्ख्यामा केही कमी गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले बताउनुभयो । रासस