मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गुजरात हिंसात्मक आन्दोलनमा मृत्यु हुनेको सङ्ख्या नौ पुग्यो

गुजरात हिंसात्मक आन्दोलनमा मृत्यु हुनेको सङ्ख्या नौ पुग्यो


नयाँ दिल्ली । भारतीय राज्य गुजरातमा जारी रहेको हिंसात्मक आन्दोलनमा परी मृत्यु हुनेको सङ्ख्या नौ पुगेको समाचारमा जनाइएको छ । 
 
प्राप्त समाचारअनुसार बिहीबारसम्ममा सो राज्यमा जारी रहेको आन्दोलनका क्रममा ती व्यक्ति मारिएका हुन् ।
  
गुजरातमा त्यहाँको एक स्थानीय पटेल समुदायले आफ्ना समुदायलाई आरक्षणको माग गर्दै केही दिनयतादेखि आन्दोलन गरिरहेका छन् । उनीहरूले बिहीबार पनि सो आन्दोलनलाई जारी नै राखेको बताइएको छ । 
 
जारी आन्दोलन हिंसात्मक भएपछि नौ जनाको ज्यान गएको पुष्टि भएको छ । मङ्गलबार पटेल समुदायको यस आन्दोलनको नेतृत्व गरेका एकजना २२ वर्षीय हार्दिक पटेललाई पक्राउ गरेपछि आन्दोलनले हिंसात्मक रूप लिएको हो ।
 
यस समुदायका नागरिकले गएको मङ्गलबार गुजरात राज्यमा नै बन्दको आयोजना गरेका थिए । सो बन्दका क्रममा कम्तीमा पनि १०० वटा बसमा आगजनी गरिएको थियो । 
 
त्यसैगरी उक्त बन्दका क्रममा हिंसा गरेको भन्दै हार्दिकसहित अरु पनि कयौँ प्रदर्शनकारीलाई पक्राउ गरिएको थियो । त्यसपछि सो राज्यमा आन्दोलन भड्किएको बताइएको हो ।
 
आन्दोलनमा सहभागीमध्ये छ जनाको प्रहरी कारबाहीमा ज्यान गएको छ भने अरु तीन जना दङ्गाका क्रममा मारिएका छन् । तर आन्दोलनकारीले भने सबै जनाको नै प्रहरीको कारबाहीमा परी ज्यान गएको दाबी गरेका छन् ।
 
प्रदर्शनकारीहरूले अहमदाबादमा धर्ना दिइरहेका छन् । हजारौँ प्रदर्शनकारीले झण्डासहित नारा जुुलुस गरिरहेका छन् । उनीहरूले त्यहाँका कतिपय सरकारी कार्यालयमा पनि आक्रमण गरेका छन् । 
 
सरकारले बुधबार नै आन्दोलनकारीहरूलाई दबाउन हजारभन्दा बढीको सङ्ख्यामा अर्धसैनिक बल त्यसतर्फ पठाएको छ । बिहीबार पनि विगतका दिनहरूका तुलनामा आन्दोलनमा हिंसा मच्चिएको बताइएको छ । 
 
गुजरात राज्यमा गएको मङ्गलबारदेखि नै विद्यालय र कलेजहरू बन्द गरिएका छन् भने बुधबारबाट मोबाइल फोनको सेवा पनि बन्द गरिएको छ ।
 
उनीहरूले पटेल जातिलाई पनि राज्यको सेवा सुविधाका लागि आरक्षणको सूचीमा नराखेसम्म आन्दोलन नरोक्ने जनाएका छन् । आन्दोलनका क्रममा करिब डेढ सय जना घाइते भएका छन् । रासस/सिन्ह्वा