मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

गुण्डालाई गोली हानेर मार्ने आदेश : डिएसपी सापकोटा

गुण्डालाई गोली हानेर मार्ने आदेश : डिएसपी सापकोटा


हिमालय खबर, चितवन । चितवनको सौराहाका पर्यटन व्यवसायीहरुले पर्यटनमैत्री प्रशासनको माग गरेका छन् । इलाका प्रहरी कार्यालय रत्ननगरमा हालै सरूवा भएर आएका प्रहरी नायव उपरीक्षक (डिएसपी) जयराज सापकोटाको स्वागत तथा भेटघाट कार्यक्रममा व्यवसायीहरुले पर्यटनमैत्री प्रशासनको माग गरेका हुन् । 

रेष्टुरेन्ट एण्ड बार एसोसिएसन, रेवान सौराहाको आयोजनामा भएको कार्यक्रममा रेवान अध्यक्ष लालवहादुर भट्ट राजनले पर्यटनमैत्री प्रशासन नभएसम्म पर्यटन क्षेत्र फष्टाउन नसक्ने बताए । विगतमा विभिन्न तीता अनुभवहरु भएको उल्लेख गर्दै उनले आगामी दिनमा रत्ननगर प्रहरीले यस्ता कुरामा ध्यान दिन आग्रह गरेका थिए ।

त्यस्तै पर्यटन व्यवसायीहरुले सौराहामा शान्ति सुव्यवस्था कायम गर्ने काममा प्रहरीको सक्रियता बढाइ दिन डिएसपी सापकोटासँग आग्रह गरेका थिए । पर्यटकीय क्षेत्र आफैँमा सुरक्षित क्षेत्र भए पनि समय समयमा केही अराजक व्यक्तिहरुले दुःख दिने गरेको भन्दै व्यवसायीहरुले त्यस्ता व्यक्तिहरुलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन आग्रह गरेका थिए । 

स्वागत कार्यक्रममा प्रहरी नायव उपरीक्षक जयराज सापकोटाले संवेदनशील क्षेत्र भएकाले सौराहामा विशेष सुरक्षा व्यवस्था गरेको बताए । पर्यटन व्यवसायलाई नराम्रो असर पर्ने कुनै पनि क्रियाकलाप प्रहरीले नगर्ने बताए । उनले गुण्डा र दादागिरी नियन्त्रणमा प्रहरी कठोर रहेको उल्लेख गर्दै यस्तालाई गोली ठोकेर मार्नेसम्मको आदेश रहेको जानकारी दिए ।

अन्य कुरामा भने व्यवसायीहरुको समस्याबाट प्रहरी टाढा नभएको उनले बताए । व्यवसायिक एकतामा जोड दिँदै सापकोटाले बृहत्तर हितका विषयमा प्रहरीले सहयोग गर्ने बताए ।

व्यवसायीलाई दुःख दिने जोकोहीलाई पनि कानुनको दायरामा ल्याउने उनले बताए । क्षेत्रीय होटल संघका अध्यक्ष ज्ञानेन्द्रकुमार विष्ट, रेवानका संस्थापक बलराम दाहाल, पूर्वअध्यक्ष पुरूषोत्तम श्रेष्ठ, साना पर्यटन व्यवसायी समूहका अध्यक्ष कृष्ण केसी, भूपेन्द्र अधिकारी, दिपेन्द्र खतिवडालगायतले मन्तव्य राख्दै पर्यटन क्षेत्रको विकासका लागि प्रशासन र व्यवसायीको हातेमालो आवश्यक भएको बताए ।