मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

अमेरिकी सिनेटरहरू भूकम्पबाट क्षतिग्रस्त साँखुको भ्रमणमा

अमेरिकी सिनेटरहरू भूकम्पबाट क्षतिग्रस्त साँखुको भ्रमणमा


साँखु (काठमाडौँ) । एक्टेड नेपालको आयोजनामा अमेरिकी सिनेटर गोल्डमेनसहितको छ सिनेटर टोलीले भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक नगरी साँखुको भग्नावशेषको निरीक्षण गर्नुका साथै शङ्खरापुर नगरपालिकाभरि सरसफाइ गर्नको लागि कामदारलाई आवश्यक ज्यावल वितरण गरेको छ । 
 
उक्त सिनेटर टोलीमा करिब ३० जना अमेरिकीको उपस्थिति रहेको थियो । सो टोलीलाई साल्खा महादेवस्थान (सी ध्वाखाः)मा स्थानीय महिला समूहले कलश राखी, फूलमाला र खादा ओढाएर स्वागत गरेको थियो ।
 
सो टोलीलाई भगवती स्कुलमा पुगेपछि साँखुको प्रवेशद्वार (भौध्वाखाः)बाट बिदाइ गरिएको थियो । एक्टेड नेपालका कार्यक्रम संयोजक दिपक चापागाईंका अनुसार शङ्खरापुर नगरपालिकाभरि करिब ३०० जना कामदार लगाएर भग्नावशेष पन्छाउने र बाटो एवम् चोकको सरसफाइ गरिनेछ । उक्त कामदारलाई युएसएआइडीको सहयोगमा एक्टेड नेपालले नै कामको पारिश्रमिक एवम् कामदारका लागि आवश्यक ज्यावलसमेत दिनेछ ।
 
शङ्खरापुर नगरपालिकाको मुटु साँखुको ८, ९, १० र ११ नं वडाको सरसफाइका लागि शङ्खरापुर सरसफाइ समिति गठन गरिएको छ । सो समितिको संयोजकमा दानबहादुर श्रेष्ठ रहेका छन् भने उपाध्यक्षमा मीरा महर्जन, कोषाध्यक्षमा ओमबहादुर कार्की, सचिवमा जीवनलाल श्रेष्ठ, सदस्यमा श्रीभक्त श्रेष्ठ, स्वयम्भूलाल श्रेष्ठ, जमुना सिं, चन्दा श्रेष्ठ र रीता कपाली रहेका छन् ।
 
त्यसैगरी, यस सरसफाइ कार्यको अनुगमन गर्न आनन्दबहादुर श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय अनुगमन समितिसमेत बनेको छ । सो समितिका अन्य सदस्यमा विष्णुभक्त गोर्खाली, प्रवीण श्रेष्ठ, राधाकृष्ण श्रेष्ठ र लकस श्रेष्ठ रहेका छन् ।
 
अमेरिकी सिनेटरको टोलीलाई जानकारी दिन एनसेन नेपालका पदाधिकारीसमेत आएका थिए । अमेरिकी प्रतिनिधिमण्डलको सुरक्षार्थ महानगरीय प्रहरी प्रभाग साँखुबाट सादा पोसाकमा प्रहरी चोकचोकमा खटिएका थिए भने सो टोलीको सुरक्षार्थ एक्टेड नेपालका स्वयंसेवकका साथै युएसएआइडीका सुरक्षा अधिकारीको समेत बाक्लो उपस्थिति रहेको थियो । रासस