मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

समाजसेवी मैयादेवी श्रेष्ठद्वारा नौ करोडको सम्पत्ति हस्तान्तरण

समाजसेवी मैयादेवी श्रेष्ठद्वारा नौ करोडको सम्पत्ति हस्तान्तरण


हिमालय खबर, चितवन । चितवनकी समाजसेवी मैयादेवी श्रेष्ठले नौ करोड रुपैयाँबराबरको सम्पत्ति बुधबार आफ्नै नाममा रहेको ट्रष्टलाई हस्तान्तरण गरेकी छिन् । कार्यक्रममा उनले ट्रष्टका अध्यक्ष प्रेमकुमार श्रेष्ठलाई सो सहयोग हस्तान्तरण गरेकी हुन् । सुश्री मैयादेवी श्रेष्ठ ट्रष्टका नाममा उनले दुई करोड रुपैयाँ नगदको अक्षयकोष र ७ करोड रुपैयाँबराबरको घर हस्तान्तरण गरेकी हुन् । 
 
सोही अवसरमा उनले नेपाल प्रेस युनियन चितवनको भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने घोषणा पनि गरिन् । सिङ्गो जीवन राजनीतिसँगै दान धर्म र समाजसेवामा बिताएकी उनले बाँकी सम्पत्ति पनि समाजसेवामा लगाउने उद्देश्यले हस्तान्तरण गरिएको बताइन्छ । 
 
सो अवसरमा बोल्दै उनले सेवाका लागि आफ्नो सम्पत्ति हस्तान्तरण गरेको बताइन् । ‘यो धन मेरो होइन् । सम्पत्ति पनि मेरो छैन । यो सबै सम्पत्ति जनतारुपी जनार्दनको हो । उनीहरुकै सेवाका लागि मैले हस्तान्तरण गरेको हुँ’, उनले भनिन् । 
 
ट्रष्टले घर बहालको रकम र व्याजबाट सामाजिक क्षेत्रमा काम गर्ने जनाएको छ । विसं १९८५ असोज ५ गते जन्मिएकी श्रेष्ठले २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेसमा प्रवेश गरी राजनीति र सामाजिक कामको थालनी गरेकी थिइन् । उनले आफ्नो नाममा रहेका बाँकी जग्गा, धनसम्पति एवम् गरगहनासमेत सामाजिक क्षेत्रमा दान गर्ने घोषणा पनि गरिन् । 
 
विसं १९८५ मा जन्मिएकी मैयादेवी अविवाहित हुन् । उनले  पाएको पैतृक सम्पत्तिबाटै अहिलेसम्म दान धर्म र सेवा गर्दै आएकी हुन् । दानवीरका नामले चिनिएकी उनिले साना ठूला थुप्रै दान र सहयोग गरेकी छन् । अहिले ८७ वर्ष उमेर पार गर्दै गर्दा उनले आफ्नो बाँकी सम्पत्ति ट्रष्टका नाममा दिएकी छन् ।
 
ट्रष्टले शिक्षा, स्वास्थ्य, सरसफाइ र धार्मिक क्षेत्रको विकासका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने गरी स्थापना गरिएको हो । शिक्षा र स्वास्थ्यमा उल्लेखनीय दान गरेकी श्रेष्ठले विभिन्न मठमन्दिर निर्माणदेखि सडक निर्माणमा समेत सहयोग पुग्दै आएको छ । 
 
हाल झण्डै तीन करोड रुपैयाँ पर्ने नेपाली कांग्रेसको काठमाडौँमा रहेको केन्द्रीय कार्यालय भवन र तीन करोड रुपैयाँकै हाराहारीमा पर्ने चितवन कांग्रेसले निर्माण गरेको भवनको जग्गा पनि श्रेष्ठले नै पार्टीलाई प्रदान गरेकी हुन् । उनले झण्डै ७ करोड रुपैयाँबराबरको लगानीमा भरतपुरमा रहेको कन्या कलेजको भवन निर्माण गरेर कलेज मैयादेवीका नाममा कायम भएको छ । 
 
सहयोग माग्न आउनेलाई रित्तो हात नफर्काउने समाजसेवी मैयादेवी श्रेष्ठले हालसम्म यसका अतिरिक्त विभिन्न संघसंस्था र व्यक्तिलाई गरी ६२ करोड रुपैयाँभन्दा बढीको भूमिदान एवं सहयोग गरिसकेको श्रेष्ठका धर्मपुत्र टंकप्रसाद पौडेलले जानकारी दिए । 
 
नेपाली कांग्रेस केन्द्रीय समितिको कार्यालय भवन, कांग्रेस चितवनको भवन निर्माणका लागि नारायणगढमा जग्गा उपलब्ध गराएकी थिइन् । सो घर जग्गाको मूल्य अहिले  तीन÷तीन करोड रुपैयाँभन्दा बढी पर्छ । उनले झण्डै ७ करोड रुपैयाँबराबरको लगानीमा भरतपुरमा रहेको कन्या कलेजको भवन निर्माण गरेर कलेज नै मैयादेवीका नाममा कायम गराएकी छन् । कलेजमा अहिले पनि झण्डै एक हजार छात्रा अध्ययनरत छन् । 
 
त्यसैगरी नेपाली कांग्रेसका नेता तथा कार्यकर्तालाई समेत गरी ६ करोड ५० लाखबराबरको जग्गादान गरिसकेकी छन् । श्रेष्ठले आफ्नो आश्रयमा रहेका र आफूले पालेका विभिन्न परिवारलाई ३३ करोड ५७ लाखको भूमिदान गरिसकेकी छन् । उनले सामाजिक एवम् धार्मिक संघसंस्था, पाटी पौवा, धर्मशालाहरुमा करिव १२ करोड रुपैयाँ सहयोग गरेको उनका परिवारले जनाएका छन् । स्वदेशमा मात्रै होइन, विदेशमा पनि उनले सहयोग गरेकी छन् ।