मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कृषि तथा पशुविज्ञान अध्ययन संस्थानका प्राध्यापक कर्मचारीले तलब पाएनन्

कृषि तथा पशुविज्ञान अध्ययन संस्थानका प्राध्यापक कर्मचारीले तलब पाएनन्


चितवन । चितवनको रामपुरस्थित त्रिभुवन विश्वविद्यालयअन्तर्गतको कृषि तथा पशु विज्ञान केन्द्रीय अध्ययन संस्थानमा कार्यरत प्राध्यापक तथा कर्मचारीहरुले ६ महिनादेखि तलब पाएका छैनन् । 
 
क्याम्पस प्रशासन र डिन प्रशासनबीच तालमेल नमिल्दा १५ जना प्राध्यापक तथा ४० जना कर्मचारी पीडित बनेका हुन् । नेपालकै दक्ष जनशक्ति उत्पादन गर्ने भनिएको सरकारी मातहतको कृषि तथा पशु विज्ञान अध्ययन संस्थानमा प्रशासन जिम्मेवारविहीन हुँदा त्यहाँ काम गर्ने प्राध्यापक कर्मचारी निरास भएका छन् । 
 
संस्थानमा कृषि र भेटेरिनरी गरी २५० जना विद्यार्थी अध्ययनरत छन् । एउटा विद्यार्थी उत्पादन गर्न झण्डै ४० लाख खर्च हुने बताइन्छ । तर प्रशासन जिम्मेवार नहुँदा पढाइको गुणस्तरसमेत खस्किएको एक प्राध्यापकले बताए । 
 
प्रतिष्ठानका सह–प्राध्यापक डा। कृष्ण काफ्ले विश्वविद्यालयमा प्रयोगात्मक र सैद्धान्तिक ज्ञानको कमी हुँदै गएको स्वीकार गर्छन् । उनी भन्छन्, ‘हतारमा पढाइ हुने गरेको छ । विद्यार्थीलाई जुनियर कर्मचारीको भरमा अध्ययन भ्रमण गराइँदै आएको छ । यस्तो प्रवृत्तिले विश्वविद्यालयको भविष्य नै अन्योलमा परेको छ ।’
 
दुर्भाग्य त के भने भेटेरिनरी विभागमा विभागीय प्रमुख नै नभएको लामो समय भइसकेको छ । स्तरीय प्राध्यापकको पदोन्नतिसमेत हुन सकेको छैन । तलब खान नपाएरै धेरै प्राध्यापकहरु दुई वर्षअघि अर्को कृषि तथा वन विज्ञान विश्वविद्यालयमा फड्किएका थिए । योे समस्या अझै पनि सुल्झिएको छैन । 
 
क्याम्पस प्रशासनकै लापर्बाहीका कारण प्राध्यापकहरु पलायन हुने संभावना बढेको डा काफ्ले बताउँछन् । डिन प्रो। नरेन्द्रकुमार चौधरी र क्याम्पस प्रमुख श्यामसुन्दर पन्तको टकराबको शिकार प्राध्यापक÷कर्मचारी बन्नु परेको छ । क्याम्पसको व्यवस्थापकीय कमजोरीका कारण अध्ययन बिदामा विदेसिएका अधिकांश प्राध्यापक पलायन भएका छन् । 
 
स्वदेशमै रहेर श्रम खर्चेका डा काफ्लेजस्ता प्राध्यापकको सही मूल्यांकन हुन सकेको छैन । डा काफ्लेले विगत चार महिनादेखि तलब पाउन नसकेको गुनासो गरे । अन्य विकल्प नहुने र पढाएरै जीवनयापन गर्नुपर्ने प्राध्यापक/कर्मचारी बढी समस्यामा परेका छन् । एउटा क्याम्पसमा असन्तुष्ट भएर तलब नपाएकै कारण अर्को विश्वविद्यालयमा जाने दृष्टान्तले कृषि तथा पशुविज्ञान अध्ययन संस्थानभित्र कतिसम्म गैरजिम्मेवारपन हावी भएको छ भन्ने प्रष्ट भएको छ ।