मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चितवनका अस्पतालमा बढ्दो लापर्बाही

चितवनका अस्पतालमा बढ्दो लापर्बाही


 
चितवन । चिकित्सकको लापर्बाहीले अस्पतालमा सेवा लिन आउने बिरामीको मृत्यु हुने र थप समस्या बल्झिने गरेका घटनाहरु सामान्यजस्तै भएका छन् । मेडिकल सिटी मानिने चितवनमा हरेक दिनजसो चिकित्सकको लापर्बाहीले अनेकौँ घटनाहरु घट्नु सबैको लागि दुःखद विषय बनेको छ । 
 
चिकित्सककै लापर्बाहीका कारण चितवनमा विगत १५ दिनमा ४ ठूला घटनाहरु भएका छन् । केही दिनअगाडि भरतपुरको एक निजी र सरकारी अस्पतालमा एक प्राध्यापक नक्कली डाक्टर बनेर गर्भवतीमाथि यौन दुव्र्यवहार गरेको घटना बाहिर आयो । 
 
त्यो घटनको केही दिनपछि एक निजी अस्पतालमा एक महिलाको पत्थरीको अप्रेसन गर्दा चिकित्सकले पेटभित्र पाइप छोडेको थियो । पाइप छोडेबारे परिवारलाई जानकारी दिइएको थिएन । ती महिलाको पत्थरीको अप्रेसन गरे पनि पेटभित्र रहेको अर्को पत्थरीले चिकित्सकले देखेनन् । 
 
त्यस्तै गत शनिबार फेरि सरकारी अस्पतालमा एक युवक डाक्टरको भेषमा भरतपुरको सरकारी अस्पताल छिरेर बिरामीको जाँच गर्दा धेरै समय कसैले पत्तो पाएनन् । ती नक्कली डाक्टरलाई सुरक्षा गार्डले उल्टो नमस्कार गर्दै आईसीयूमा भित्र छिर्न दिएका थिए । अन्ततः सुरक्षा गार्डबाटै उनी समातिएका थिए । 
 
चितवनमा मृत्युको विषयलाई लिएर अस्पतालहरु तोडफोड भएका छन् । केही महिनाअगाडि नारायणगढको सिटी नेशनल अस्पतालमा एक महिलाको मृत्युको विषयलाई लिएर तोडफोड गरिएको थियो । त्योभन्दा अगाडि मृत्युको विषयलाई लिएर भरतपुरको भरतपुर सामुदायिक अस्पतालमा पनि तोडफोड भएको थियो । यस्तै विषयलाई लिएर केही समयअगाडि नयाँ मेडिकल कलेजमा पनि तोडफोड भएको थियो । 
 
यी त भए बाहिर आएका र देखिएका खबरहरु । लापर्बाहीले भित्रभित्रै भएका कतिपय घटनाहरु बाहिर आउन नसकेका पनि होलान् । यस्तो अवस्थामा चितवनका अस्पतालहरु अब सजग र सचेत हुन जरुरी छ । 
 
चिकित्सा क्षेत्रमा काम गरेका विज्ञहरु भने यस्ता त्रुटिहरु कतिपय मानवीय कारणले त कतिपय अस्पतालको लापर्बाहीले हुने गरेको बताउँछन् । यस्ता घटनाले चितवनको मेडिकल क्षेत्रमा दाग लागेको भन्दै पेसासँग सरोकार राख्ने कतिपय व्यवसायीहरु चिन्ता व्यक्त गर्छन् । 
 
मेडिकलको क्षेत्रमा घट्ने विभिन्न घटनाले यसको गरिमामाथि प्रश्नचिन्ह खडा गरेको अनुभूति गरिएको विश्लेषकहरु बताउँछन् । भविष्यमा यस्ता त्रुटिहरु दोहोरिन नदिन हदैसम्मको सतर्कता अपनाउनु जरूरी छ ।
 
नेपाल चिकित्सक संघ चितवनका अध्यक्ष कृष्णप्रसाद पौडेलले यस्ता घटना मानवीय त्रुटिका कारण भएको बताउँछन् । उनले भने, ‘कहिले अस्पतालको लापर्बाहीले बिरामी मारिने, अनेक खालका दुव्र्यबहार दोहोरिने, बिरामीलाई यातना शिविरमा जस्तो पीडा थोपर्ने व्यवहारले अस्पतालको गुणस्तरीयता, विश्वसनीयता र गरिमामाथि नै नकारात्मक असर पु¥याएको छ ।’ यस्ता घटनाहरुलाई दाहोरिन नदिन चिकित्सक तथा सहयोगी नर्सहरु संवेदनशील हुन आवश्यक रहेको अध्यक्ष पौडेलको भनाइ छ ।
 
गत वैशाख २३ गते चितवनको नारायणी सामुदायिक अस्पतालमा किड्नीको पत्थरीको अप्रेसन गरेकी भरतपुर–१८ बस्ने गोमा भण्डारीको पेटमा चिकित्सकको लापर्बाहीका कारण पाइप छुटेको भन्ने खबरको खण्डन गर्दै भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट मणिकलाल मानन्धरले पत्थरीको अप्रेसनगर्दा मुत्र नली नखुम्चियोस् भनेर डिजेस्टन्ट नामक पाइपको प्रयोग गरिने र यसलाई ४ देखि ६ हप्तासम्मको लागि भित्र राख्न आवश्यक रहेको बताए ।
 
डाक्टरको भनाइअनुसार पाइप राख्नु ठीक भए पनि परिवारलाई यस विषयमा जानकारी नदिनु र पेटभित्र भएको अर्को पत्थरी नदेख्नु अस्पतालको कमजोरी भएको देखिन्छ । 
 
मेडिकल काउन्सिलका सदस्यसमेत रहेका मानन्धरले पाइप नराखे झन् समस्या देखिने दाबी गरे । मृगौलादेखि पिसाव थैलीसम्म पिसाव सञ्चार गराउन पाइपले मद्दत गर्ने उनको भनाइ छ । साना साना पत्थरी समेत सजिलै सञ्चार होस् भन्ने मनसायले १२ इन्च सम्मको डिजेस्टेन्ट पाइप राख्न सकिने उनले बताए ।
 
डाक्टरको भेषमा नक्कली डाक्टर पस्नुमा अस्तपाल प्रशासनको पनि हात रहने मानन्धरले बताए । अस्पतालभित्र पस्ने गेटमा नै सुरक्षा गार्डले डाक्टरको परिचयपत्र हेरेर प्रवेश गराउनुपर्ने उनको भनाइ छ ।