मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साहित्य / कला   

न्यास्रो जन्मभूमिको -बैकुण्ठराज आचार्य

न्यास्रो जन्मभूमिको -बैकुण्ठराज आचार्य


तिमी आयौ 
लाग्यो 
गोदावरीको फूलवारीबाट 
फूलै-फूलको वास्ना लिएर आयौ 
दामनबाट 
लालीगुराँसको झुप्पै लिएर आयौ 
 
लाग्यो 
जानकी मन्दिरबाट  
अगरबत्तीको वास्ना आयो 
स्वर्गद्वारीको हवनकुण्डबाट 
अखण्ड ज्योतिको अंश आयो 
पशुपति मन्दिरबाट 
चन्दनको वास्ना आयो 
 
तिमी आयौ 
जन्मभूमि पुगेर 
लाग्यो 
कालीगण्डकी बाट 
शालिग्राम लिएर आयौ 
त्रिशुलीबाट 
ताजा माछा लिएर आयौ 
गोरखाबाट 
फूलपाती लिएर आयौ 
 
तिमी आयौ  
पन्चेबाजाको गुन्जन आयो 
मादल घन्केको आवाज आयो 
बर्दियामा मृग चरिरहेको दृश्य आयो 
रसुवामा चौरी चरिरहेको दृश्य आयो 
 
तिमी आयौ 
देवघाटको मेला याद आयो 
रिडीको मेला याद आयो 
दाङको माघी याद आयो 
जनकपुरको छठ याद आयो 
दशैँ र तिहारको याद आयो 
 
तिमी आयौ 
एउटा मीठो हावाको झोक्का आयो 
एउटा माटोको सुवास आयो 
पारिजात फूलको वास्ना आयो 
लुम्बिनी शान्तिदीपको ज्योति आयो 
 
तिमी आयौ 
यहाँ 
थुप्रिएका बैराग्यहरु भागे 
नयाँ जोश, जाँगर आए 
मनले  लोकगीत र दोहोरी गाए 
 
तिमी आयौ 
यहाँ हिमाल आयो 
यहाँ पहाड आयो 
यहाँ तराई आयो 
यहाँ एउटा सानो नेपाल आयो 
 
-बैकुण्ठराज आचार्य 
डालस, टेक्सास