नेपाल

बाँकेमा अनिश्चितकालीन बन्द, जनजीवन प्रभावित

बाँकेमा अनिश्चितकालीन बन्द, जनजीवन प्रभावित


नेपालगन्ज । सुदूरपश्चिमको कञ्चनपुरदेखि पूर्वमा चितवनसम्मका १० जिल्ला थरुहट प्रदेश हुनुपर्ने माग राखी आजदेखि अनिश्चितकालीन बाँके जिल्ला बन्द आह्वान गरिएको छ । 
 
थरुहट संयुक्त सङ्घर्ष समिति, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र अन्तर पार्टी मधेसी सञ्जालले आह्वान गरेको बन्दको प्रभाव बिहानदेखि यहाँ परेको छ । 
 
जिल्ला बन्दको सबैभन्दा बढी प्रभाव लामो र छोटो दूरीका सार्वजनिक यातायातमा परेको छ । बन्दका कारण नेपालगन्जबाट बाहिर जाने र भित्रिने कुनै पनि यातायातका साधन सञ्चालनमा आउन सकेका छैनन्, जसका कारण ठाउँठाउँमा यात्रु विचल्लीमा परेका छन् । 
 
बाँके जिल्लाको प्रमुख सहर नेपालगन्जमा भने बन्दको आंशिक प्रभाव परेको छ । सहरमा रिक्सा, टाँगा, मोटरसाइकल निर्वाध चलेका छन् भने अधिकांश पसल खुलेको पाइन्छ । बन्दका कारण यहाँका शिक्षण संस्था, उद्योग, कलकारखाना भने सञ्चालनमा आउन सकेनन् ।
 
बन्दका क्रममा अप्रिय घटना हुन नदिन जिल्लाका मुख्यमुख्य स्थानमा प्रहरीको कडा सुरक्षा व्यवस्था गरिएको छ । अवध मधेस थरुहट प्रदेश स्थापना हुनुपर्ने, जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण हुनुपर्ने, नागरिकताको विभेदकारी नीति खारेज हुनुपर्ने, राज्यका सबै क्षेत्रमा जनसङ्ख्याको आधारमा पूर्ण प्रतिनिधित्व, सहभागिता समावेशी हुनुपर्ने, अन्तरिम संविधानमा व्यवस्था गरिएको मधेसी, मुस्लिम, थारु, आदिवासी, जनजाति, अल्पसङ्ख्यक र सीमान्तकृतको आयोगलाई संविधानमा राख्नुपर्नेलगायत छबुँदे माग राखी बन्द आह्वान गरिएको हो । 
 
बन्द आह्वान गर्ने सङ्गठनले कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, सुर्खेत, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी र चितवनलाई थरुहट प्रदेश घोषणा गर्नुपर्ने माग  अघिसारेका छन् । रासस  
 

शेयर गर्नुहोस:

0
Shares