काठमाडौँ । प्राडा गोविन्द केसीले सरकारले चार महिनाअघि गरेको सम्झौता कार्यान्वयन नभएको जनाउँदै बुधबारदेखि पुनःआमरण अनशन बस्ने भएका छन् । ‘माग पूरा गर्ने पहल भएको छैन,’ उनले भने, ‘बुधबार दिउँसो चार बजेदेखि अनशन सुरु गर्ने कार्यक्रम छ ।’
केसी छैटौं पटक आमरण अनशनमा बस्न लागेका हुन् । सरकारले माग सम्बोधन गर्ने लिखित सम्झौता गरेपछि पाँचौं अनशन उनले १२ औं दिनमा तोडेका थिए । डा केसीले साउन २२ सम्म माग पूरा नभए चिकित्सा शिक्षा र सेवामा सर्वसाधारणको पहुँच सुनिश्चित गर्न छैटौंपटक आन्दोलन गर्न बाध्य भएको उनले बताएका छन् ।
चार महिनाअघि पछिल्लो आन्दोलनमा सरकारले गरेको सम्झौताका महत्त्वपूर्ण बुँदाहरू अझै कार्यान्वयन गरेको छैन, प्राडा केसीले भने, हामीले सम्बद्घ निकायमा सम्झौता कार्यान्वयनको अनुरोध गर्दै आए पनि कुनै सुनवाइ नभएकाले पुन आन्दोलन गर्नुपरेको हो । कान्तिपुर दैनिकमा समाचार छ ।
उनले यस पटक ६ बुँदे माग राखेका छन् । मन्त्रीमण्डलबाट माथेमा प्रतिवेदन कार्यान्वयन गर्ने निर्णयसहित आवश्यक नीति र कानुन निर्माणको प्रक्रिया तत्काल सुरु हुनुपर्ने बताएका छन् । प्रतिवेदनले सुझाएको संरचनाअनुसार तत्काल चिकित्सा शिक्षा आयोगसमेत गठन गरिनुपर्ने उनको माग छ ।
प्रतिक्रिया