मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

डिभी/पीआरवाला प्रहरीले दिए धमाधम राजीनामा

डिभी/पीआरवाला प्रहरीले दिए धमाधम राजीनामा


काठमाडौं । विभिन्न देशको आवासीय अनुमति लिएका प्रहरीले धमाधम राजीनामा दिन थालेका छन् । 
 
सशस्त्र प्रहरी बलका एक डिआइजी तथा नेपाल प्रहरीमा एक डिएसपीले राजीनामा दिएका छन् । सशस्त्र प्रहरी बलका डिआइजी दुर्गाबहादुर कुँवरले दिएको राजीनामा गृह मन्त्रालयले स्वीकृत गरिसकेको छ । 
 
उनले विदेशी आवासीय अनुमतिको कारण नभई व्यक्तिगत कारण देखाई राजीनामा दिएका छन् । तर, नेतृत्वसँगको असन्तुष्टिका साथै अमेरिकाको पिआर भएकाले उनले राजीनामा दिएको स्रोतको दाबी छ ।
 
नेपाल प्रहरीका डिएसपी खेम केसीले पनि प्रहरी प्रधान कार्यालयमा राजीनामा दिएका छन् । उनले पारिवारिक कारण देखाउँदै राजीनामा दिएका छन् । उनको राजीनामा भने स्वीकृत भइसकेको छैन । सशस्त्र प्रहरी बलका तीनजना अधिकृतले आफूहरूसँग विदेशको आवासीय अनुमति रहेको जानकारी दिएका छन् ।
 
सशस्त्र प्रहरी बल नियमावली ०७२ अनुसार सशस्त्र मुख्यालयले डिभी, पिआर वा ग्रिनकार्डबारे जानकारी दिन एक महिनाको अवधि दिएको थियो । त्यस्तो अवधि बुधबारबाट सकिएको छ ।
 
सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी पुष्पराज केसीका अनुसार यो अवधिमा तीनजना अधिकृतले आफूसँग विदेशी आवासीय अनुमति रहेको जानकारी गराएका छन् । दुईजना डिएसपी र एक इन्स्पेक्टरले त्यस्तो जानकारी गराएको उनले बताए । 
 
‘अब एक महिनाभित्र कि उनीहरूले विदेशको आवासीय अनुमति त्याग्नुपर्छ कि जागिर छाड्नुपर्छ,’ डिआइजी केसीले भने । जानकारी नदिएकाहरूसँग डिभी/पिआर/ग्रिनकार्ड पाइए उनीहरूलाई बर्खास्त गरिने केसीले बताए । 
 
सशस्त्र प्रहरी नियमावलीको दफा १०७ मा अन्य कुनै पनि मुलुकको स्थायी आवासीय अनुमति लिन नहुने कुरा उल्लेख छ ।
नेपाल प्रहरीले पनि अन्य देशको आवासीय अनुमति लिएका प्रहरीलाई कारबाही गर्न नियमावली संशोधनको प्रक्रिया अघि बढाइसकेको नयाँ पत्रिकामा खबर छ । 
 
प्रहरी प्रवक्ता डिआइजी कमलसिंह बमका अनुसार नियमावली संशोधनको मस्यादौ गृह मन्त्रालयमा पठाइसकिएको छ । नियमावली संशोधन भएपछि छानबिन र कारबाही प्रक्रिया सुरु हुने उनले बताए ।