मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सुदूरपश्चिम टुक्र्याउन पाइँदैनः केन्द्रीय सदस्य लेखक

सुदूरपश्चिम टुक्र्याउन पाइँदैनः केन्द्रीय सदस्य लेखक


भीमदत्तनगर । चार राजनीतिक दलले आफूखुसी निर्णय गरी सुदूरपश्चिमको मौजुदा संरचना टुक्र्याउने निर्णय गर्न लागेको भन्दै राप्रपा (नेपाल)ले त्यसको विरोध गरेको छ । 
 
राप्रपा (नेपाल)का केन्द्रीय सदस्य हेमबाबु लेखकले बुधबार साँझ एक विज्ञप्ति जारी गर्दै  नेपाली काँग्रेस, नेकपा (एमाले), एनेकपा (माओवादी) र मधेसी मोर्चाद्वारा गरिन लागेको उक्त निर्णयको विरोध गरेका हुन् । 
 
विज्ञप्तिमा सदियौँदेखि भाइचारा, सदभाव र सहिष्णुतासहित बस्दै आएका सुदूरपश्चिमेलीलाई उनीहरुको भावनाविपरीत कैलालीको केही भूभाग, बाँके, बर्दिया र नवलपरासीसँग जोड्दा सुदूरपश्चिमेली नागरिकको भावना र अखण्ड सुदूरपश्चिमका लागि भएको ३२ दिने आन्दोलनको मर्ममाथि कुठाराघात हुने उल्लेख छ ।   
 
विसं २०६९ मा भएको ३३ दिने आन्दोलनका आन्दोलनकारीसँग अखण्ड सुदूरपश्चिम राज्य नै निर्माण हुने भनी गरिएको सम्झौतामा हस्ताक्षर गर्ने एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, तत्कालीन एमाले अध्यक्ष झलनाथ खनाल र काँग्रेस सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला स्वयम्ले यस्तो निर्णय गर्नु सुदूरपश्चिमप्रतिको धोका हो, बक्तव्यमा उल्लेख छ । 
 
विज्ञप्तिमाका अनुसार यदि संविधानको पहिलो मस्यौदामा पेस भएका सुदूरपश्चिमेली नागरिकका अखण्ड सुदूरपश्चिम पक्षमा प्रकट भएका सुझाव, २०६९ सालमा भएको राजनीतिक दल र सरकारसितको लिखित सहमतिविपरीत सुदूरपश्चिमको मौजुदा संरचनामा कुनै त्रुटि भए त्यो दलहरुका लागि अभिसाप हुनेछ । 
 
ठूला दलहरु वर्षौंदेखि पछाडि पारिएका थारु समुदायको मत प्राप्त गर्ने कुटिल षडयन्त्रमा लागेको र सङ्घीय राज्यमा पनि उनीहरुको सद्भावना पाई आफैँ शासन गर्ने मनस्थितिले सुदूरपश्चिम टुक्र्याउन लागेको विज्ञप्तिमा आरोप लगाइएको छ । रासस