मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सूर्य नउदाउँदै अस्ताएका सूर्य काका

सूर्य नउदाउँदै अस्ताएका सूर्य काका


बुटवल । समाजको पर्यायका रुपमा सामाजिक व्यक्तित्व बनाएका एक प्रजातान्त्रिक योद्धाको अन्त्य भएको छ ।
 
सूर्य बिहान उदाउँछ । बेलुका अस्ताउँछ । यो प्रकृतिको नियम हो । तर, बुटवलमा सामाजिक सेवाको भावनाले बुटवलवासीलाई दुःखसुखमा सधैँ उज्यालो दिने उनै सूर्यप्रसाद काका आज सूर्य उदाएसँगै अस्ताएका छन् । 
 
बुटवलवासीको दुःखसुखमा जहिले पनि सामेल हुने र हरेकका मनमा सूर्यप्रसाद काकाको रुपमा अभिभावकको स्थान बनाएका यी सामाजिक योद्धा आज बिहानै सूर्य उदाउँदै गर्दा बुटवलवासीलाई माया र स्नेह छाडेर अस्ताउँलान् भन्ने सायदै कसैले सोचेको पनि थिएन होला । तर, ‘आयो टप्प टिपी लग्यो यो टारेर टर्दैन त्यो’ संसारिक यथार्थता यही नै हो ।
 
उमेरका हिसावले साढे सात दशक पार गरिसकेका तर हिजोसम्म पनि सामान्यरुपमै देखिँदै आएका प्रधानको आज बिहान एक्कासी निधनको खवरले सबैलाई स्तब्ध बनायो । यसैले उहाँको निधनलाई कसैले पनि सहजरुपमा लिन सकेका छैनन् । यसको कारण हो सूर्यप्रसाद प्रधानले राजनितिसँगै सामाजिक क्षेत्रको नेतृत्वमा रहेर यहाँको विकासमा पु¥याएको सामाजिक उचाइ र व्यक्तित्व ।
 
विसं २०१४ सालको भद्र अवज्ञा आन्दोलनबाट राजनीति सुरु गर्नुभएका प्रधान बुटवलको विकासका संस्थापकमध्येका एक हुनुहुन्थ्यो । त्यतिबेला गणेशमान सिंहबाट प्रभावित हुनुभई उहाँले राजनीतिक यात्रा सुरु गर्नुभएको थियो । राजनीतिक यात्रासँगै बुटवलमा समाजसेवीको रुपमा स्थापित स्वर्गीय प्रधानलाई सबैले सूर्यप्रसाद काका भन्ने गर्दथे । यसैले पनि उहाँ सबैको अभिभावक हुनुहन्थ्यो ।
 
लोकतन्त्रवादी नेता तथा राजनीतिक, सामाजिक एवम् विकासप्रेमी व्यक्तित्वको निधनले आपूmलाई स्तब्ध तुल्याएको भन्दै एमाले उपमहासचिव तथा रुपन्देही क्षेत्र नं. ४ का सभासद विष्णुप्रसाद पौडेलले एक विज्ञप्ती जारी गरेर दुःख व्यक्त गर्नुभएको छ । स्वर्गीय प्रधानलाई अभिभावकको स्थानमा राख्दै उहाँले सूर्य दाजुको निधनले सिङ्गो लोकतान्त्रिक एवम् सामाजिक आन्दोलनलाई ठूलो क्षति पुगेको बताउनुभएको छ । 
 
स्वर्गीय सूर्यप्रसाद काका लामो समयदेखि उच्च रक्तचाप र मधुमेहको बिरामी हुनुहुन्थ्यो । बुटवल–६ लक्ष्मीनगरस्थित आफ्नै घरमा आज बिहान एक्कासी श्वासप्रश्वासमा समस्या भएपछि बिहान ०५ः०० बजे उहाँलाई उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल पु¥याइएको थियो । उपचारका क्रममा बिहान करिव ०६ः०० बजे अस्पतालमा निधन भएको नेपाली काँग्रेस नगर सभापति खेलराज पाण्डेले बताउनुभयो । 
 
विसं १९९७  मा पर्वत जिल्लामा जन्मनु भएका उहाँले विसं २०२६ सालदेखि बुटवलको समग्र विकासका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो । स्वर्गीय प्रधान बुटवलको समग्र विकासका लागि सामाजिक स्वार्थको भावनाले काम गर्नुभएकाले आगामी दिन उहाँले थालेका सामाजिक कार्यलाई पूरा गर्नु सबैको कर्तव्य रहेको नेपाली काँग्रेस केन्द्रीय सदस्य तथा सभासद् बालकृष्ण खाँण बताउनुहुन्छ । 
 
स्वर्गीय प्रधानले विसं २०३८ सालदेखि २०४५ सालसम्म बुटवल उद्योग वाणिज्य सङ्घ, रुपन्देहीको अध्यक्ष पदमा रहेर सङ्घको संस्थागत विकास एवम् बुटवलको सामाजिक आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष महेशमान सिंह बताउनुहुन्छ ।
 
स्वर्गीय प्रधानले बुटवलको शिक्षा र स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनुभएको थियो । उहाँले लुम्बिनी अञ्चल अस्पतालको विकास, सिद्धार्थ बाल तथा महिला अस्पतालको स्थापना, बुटवल लायन्स आँखा अस्पतालको स्थापना, गौतमबुद्ध हृदयरोग अस्पतालको क्लिनिक सञ्चालनमा नेतृत्व नै गर्नुभएको थियो । 
 
यस्तै, बुटवलको शैक्षिक क्षेत्रमा बुटवल बहुमुखी क्याम्पसको विकास, लुम्बिनी वाणिज्य क्याम्पसको विकास र सिद्धार्थ बहुमुखी क्याम्पसको स्थापनामा नेतृत्व गर्नुभएको थियो । उहाँ सिद्धार्थ गौतमबुद्ध क्याम्पसको अन्तिम समयसम्म पनि अध्यक्ष हुनुहुन्थ्यो ।
 
स्वर्गीय प्रधानले बुटवलमा ज्ञानोदय रात्रि माविको सञ्चालन, लुम्बिनी वाणिज्य क्याम्पसको सञ्चालन, बुटवल बहुमुखी क्याम्पसको विज्ञान भवनको निर्माण, रक्त सञ्चार भवन निर्माणजस्ता सामाजिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएकाले पनि उहाँको अभाव बुटवलवासीलाई सधैँ खट्किरहने अध्यक्ष सिंहको बुझाइ रहेको छ ।
 
व्यक्तिगत स्वार्थ र व्यक्तिगत महत्वाकांक्षाबाट टाढा रहेर जनताको भलाइमा आफ्नो जीवन समर्पण गर्नुभएका अत्यन्त भद्र र शालीन व्यक्तित्वको निधनले अपूरणनीय क्षति पुगेको र आगामी दिन उहाँको जीवनीले सबैलाई  सत्कार्यमा लागिरहन प्रेरणा मिल्ने सिंह बताउनुहुन्छ । 
 
बुटवल उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष तथा सफल व्यवसायी जीवनप्रसाद ओझा स्वर्गीय प्रधान एक सामाजिक चरित्र भएको र सामाजिक जीवनका लागि कुनै पनि विषयमा सम्झौता नगर्ने व्यक्तित्वको रुपमा आपूmले पाएको बताउनुभयो । 
 
आफ्नो जीवनमा बुटवलको समग्र विकासका लागि सामाजिकरुपले सदैव क्रियाशील रहनुभएकाले उहाँलाई राजनीतिक रुपले भन्दा सामाजिक व्यक्तित्वको रुपमा बुभ्mन सकिने उहाँको भनाइ छ ।
 
स्वर्गीय प्रधान सामाजिक क्षेत्रको नेतृत्वबाट राजनीतिक क्षेत्रमा पनि  नेतृत्वदायी भूमिकामा पुग्न सफल हुनुभयो । विसं २०४६ को बहुदलीय व्यवस्था स्थापना पछि विसं २०४९ सालमा भएको पहिलो स्थानीय निर्वाचनमा उहाँ नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बनेर बुटवल नगरपालिकाको प्रमुख निर्वाचित हुनुभएको थियो भने २०५६ सालको आम निर्वाचनमा उहाँ तत्कालीन रुपन्देही क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
 
विक्रम सम्वत् १९९७ साल असोज १३ गते पर्वतको पाङ्मा गाविसमा जन्मनु भएका प्रधानका श्रीमती (सुक्कुमारी प्रधान) र एक छोरी (विश्वशान्ति प्रधान ) हुनुहुन्छ । उहाँको केही समय पहिले ‘समाजसेवी तथा राजनीतिज्ञ सूर्यप्रसाद प्रधान’ नामक जीवनी प्रकाशनमा आएको थियो । उहाँको आजै बुटवलस्थित तिलोत्तमा घाटमा दाहसंस्कार गरिएको छ । रासस