मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

होमस्टेले रु एक करोड २७ लाख कमायो

होमस्टेले रु एक करोड २७ लाख कमायो


कावासोती । दुई वर्षअगाडि नवलपरासीको कावासोती–१५ अमलटारी बाघखोरमा स्थापना गरिएको थारू होमस्टेले रु एक करोड २७ लाख आम्दानी गरेको छ ।
चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरमा रहेको सो होमस्टेले पर्यापर्यटन र संस्कृतिको संरक्षणमार्फत पर्यटकलाई आकर्षण गरी राम्रो आम्दानी लिन सकेको हो ।
नयाँ ठाउँ जान रुचाउने पर्यटकका लागि यो गन्तव्य बनेको छ । सुरुको वर्ष आठ हजार पर्यटक भित्रिएको यो ठाउँमा यस वर्ष १२ हजार पर्यटक आएका छन् । यसबाट स्थानीयवासीले २१ घरले प्रतिघर रु ६ लाख चार हजार ७६२ कमाएका छन् । थारू समुदायको संस्कृतिसँगै पर्या–पर्यटनमा रमाउन चाहने पर्यटकको आमगनले यहाँको पर्यटन व्यवसायले ह्वात्तै गति लिएको अमलटारी मध्यवर्ती थारू होमस्टेका अध्यक्ष प्रेमशङ्कर मर्दनियाले बताए ।

अमलटारी आउनेहरूले यहाँ तीन दिन सजिलै बिताउन सक्नेछन् । विदेशी पर्यटकभन्दा पनि स्वदेशी पाहुनाले होमस्टे भरिभराउ हुन्छ । २१ घरका सबै सदस्यको सक्रिय सञ्चालनमा आएको यो होमस्टे अहिले नारायणघाटबाट पश्चिम हिँडेका र पश्चिमबाट पूर्व हिँडेकालाई गतिलो बस्ने र घुम्ने ठाउँ भएको छ । एकसिङ्गे गैँडादेखि जङ्गल सफारीले गर्दा जो कोहीको मन पनि यहाँ रमाउने गर्छ । त्यसमा थारू खाना परिकार सबैको रोजाइ बनेको छ ।

घुम्न आउनेको खर्चले गाउँमा राम्रो आम्दानी पनि भित्र्याएको छ । युवाले रोजगार पाएका छन् । गृहणीले पनि उत्तिकै कमाएका छन् । यहाँ पर्यटक आउनका लागि हिउँद वर्षा भन्ने नै छैन । सधैँ यहाँ भरिभराउ पाहुना हुन्छन् । हामीसँग ८४ श्यया छन् त्यो प्याक नै हुन्छ अमलटारी होमस्टेका कोषाध्यक्ष धनिराम महत्तोले भने, ‘खाना बस्नका लागि पनि उत्तिकै सस्तो छ । दुईजना बस्न मिल्ने कोठा रु ५०० मा पाइन्छ ।’

आएको आम्दानी रकम सबै जनाले बराबर पाउँछन् । पर्यावरणको र संस्कृतिको संरक्षणबाटै लोभलाग्दो आम्दानी गरेका कावासोती बाघखोरमा थारू समुदायको काम अरू ठाउँका बासिन्दालाई समेत प्रेरणा हुन सक्ने नेपाल पर्यटन पत्रकार मञ्च नवलपरासीका सचिव बेचु गौँडले बताए । रासस