मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बालकलाई बलिको नाममा हत्या अमानवीय र क्रुर –आयोग

बालकलाई बलिको नाममा हत्या अमानवीय र क्रुर –आयोग


काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले तन्त्रमन्त्रका नाममा नवलपरासीको कुडिया– ४ मर्चहवाका १० वर्षीय बालकको घाँटी रेटी बलि दिइएको हत्याप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 
 
आयोगले सदरमुकामदेखि २० किलोमिटर टाढा पर्ने मर्चहवामा स्थानीय कोदई हरिजनका बिरामी छोराको उपचारको नाममा झाँक्रीको सल्लाहमा भएको बलि चढाउने काम जघन्य अपराध भएको जनाएको छ । 
 
मानिसको बलि दिएर रोग निको हुन्छ भन्ने अन्धविश्वासमा बालकको हत्या गर्ने कार्य दण्डनीय अपराध भएको उल्लेख गर्दै आयोगले अपराधमा संलग्न व्यक्तिलाई कानुन बमोजिम तत्काल सजाय दिन र पीडित परिवारलाई क्षतिपूर्ति दिनसमेत सरकारको ध्यानाकर्षण गराएको छ । 
 
बालकको बलि दिने घटनाबाट नेपाली समाजमा अझै पनि चरम अन्धविश्वास कायमै रहेको प्रष्ट देखिएको र बालअधिकारसम्बन्धी महासन्धिको धारा ६, ८ र २७ मा सबै बालबालिकाको बाँच्न पाउने अधिकारको खिलाफमा रहेको प्रष्ट भएको आयोगको भनाइ छ । 
 
सरकारले बालबालिकाको हक अधिकार, संरक्षण र संवद्र्धनका लागि बालअधिकारसम्बन्धी महासन्धिलगायतका विभिन्न विषयमा जनचेतना जगाउनु आवश्यक रहेको समेत ठहर गरेको छ । 
 
बालबालिका शान्ति क्षेत्र हुन भनिए पनि विद्यालयमा हुने कुटपिट, भेदभाव तथा प्राकृतिक कारण सिर्जना हुने अमानवीय घटनाले बालबालिकाको ज्यानै जान सक्नेतर्फ सम्बन्धित निकाय सचेत रही समाजमा हुने क्रुर, अमानवीय र पाशविक कार्य नियन्त्रण गर्न मौजुदा कानुनमा समयसापेक्ष सुधार गरी सशक्त बनाउन सरोकार भएका सबैको आयोगले ध्यानाकर्षण गराएको प्रवक्ता एवम् आयोगकी सदस्य मोहना अन्सारीले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । 
 
बिरामीको उपचार गर्ने भन्दै केही दिन पहिले १० वर्षीय बालक जीवन कोहारको नवलपरासीको मर्चहवामा हत्या गरिएको थियो । रासस