मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

करिव तीन सय बालश्रमिकलाई घर फर्काइयो

करिव तीन सय बालश्रमिकलाई घर फर्काइयो


चितवन । चितवनको रत्ननगरमा घरेलु बालश्रमिकका रुपमा काम गर्ने बालबालिकामध्ये करिब तीन सयलाई घर फर्काइएको छ । रत्ननगर नगरपालिकाका सामाजिक शाखा प्रमुख तेजेन्द्र लामिछानेका अनुसार साविक रत्ननगरमा रहेका ५८४ घरेलु बालश्रमिकमध्ये अहिले तीन सयको हाराहारीमा बालबालिका घरेलु बालश्रममा रहेका छन् । दुई सय ८४ जनालाई भने विभिन्न कार्यक्रम सञ्चालन गरेर घर फर्काइएको लामिछाने बताए । 
 
चौध वर्ष माथिकालाई आयआर्जनका कार्यक्रमसँगै सीप सिकाएर घर फर्काइएको छ भने अन्य साना बालबालिकाको हकमा उनका परिवारलाई सक्षम बनाएर श्रमबाट फर्काइएको छ । चितवनको भरतपुर, रत्ननगर, नारायणगढ, पर्सा, लोथर, भण्डारालगायत सहरी क्षेत्रमा बढी बालश्रमिक छन्।  
 
विशेष गरी ग्यारेज, होटल तथा सवारी साधनमा बालश्रमिक बढी प्रयोग हुने गरेका छन् भने व्यक्तिका घरमा लुकीछिपी बालश्रमिक प्रयोग गरिएको पाइएको छ । जिल्लामा सबै प्रकारका बालश्रमिक गरी करिब तीनदेखि चार हजारको हाराहारीमा रहेको अनुमानित तथ्याङ्क छ ।  
 
बालश्रम न्यूनीकरण र सडक बालबालिकाका क्षेत्रमा काम गर्दै आएका दियालो परिवार, नारायणगढका कार्यकारी निर्देशक केदारनाथ खनालले बालश्रमिक तथा सडक बालबालिकालाई परिवारमा फर्काइए पनि पुनः सोही क्षेत्रमा फर्कने गरेको भन्दै व्यवस्थापनमा चुनौती रहेको बताए ।  
 
बालमैत्री स्थानीय शासन लागू भएको रत्ननगर नगरपालिका र भरतपुर उपमहानगरपालिकामा बालश्रम चुनौतीका रुपमा रहेको स्थानीयवासीले बताएका छन् । रत्ननगरले अहिलेसम्म आफ्नो सेवा क्षेत्रको शान्तिकुञ्ज टोललाई बालश्रम मुक्त क्षेत्र घोषणा गरिसकेको छ । रासस