मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चितवन प्रशासनले अस्पतालको कडा अनुगमन गर्ने

चितवन प्रशासनले अस्पतालको कडा अनुगमन गर्ने


चितवन । भरतपुरका दुई अस्पतालमा गर्भवतीमाथि यौन दुव्र्यवहार भएको घटना सार्वजनिक भएपछि प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले चितवनका सबै अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई परिचयपत्र र पोशाक अनिवार्य गराउन निर्देशन दिएका छन् । ठूला अस्पतालमा एप्रोन नलगाउने र परिचय नभिर्ने डाक्टरहरु रहेको भन्दै प्रजिअ सिंहले ठूला भनिएका अस्पतालका प्रशासकलाई समेत यस्तो निर्देशन दिएका हुन् ।
 
‘परिचयपत्र र एप्रोनबिना नै डाक्टर काममा हुँदा बिरामीलाई चिन्न गाह्रो हुन्छ, उनले भने, ‘विभिन्न अपराधिक घटनाबाट बच्नका लागि पनि अस्पतालहरुले परिचयपत्र र एप्रोन अनिवार्य गर्न जरूरी छ ।’ साथै उनले निर्देशन लागू भएनभएको अनुगमन गर्ने बताए । 
 
गत साउन ५ गते बालकुमारी कलेजका शिक्षक डायमण्ड श्रेष्ठले नक्कली डाक्टर बनेर चितवनको नारायणी सामुदायिक र भरतपुर अस्पतालमा गएर गर्भवतीमाथि यौन दुव्र्यवहार गरेको घटनापछि यस विषयमा सर्वत्र चासो भएको छ । जबर्जस्ती करणी प्रयासको आरोपमा उनी अहिले चितवन प्रहरीको हिरासतमा छन् ।
 
यस घटनाबारे प्रमुख जनस्वास्थ्य अधिकृत मधुसूदन कोइरालाले कुनै जानकारी नभएको प्रतिक्रिया दिए । अस्पतालको नियमन गर्ने जिल्लाको निकायका प्रमुखले यस्तो सनसनीपूर्ण घटनाबारे कुनै जानकारी नभएको भनी दिएको प्रतिक्रियाले उनको प्रशासकीय क्षमतामाथि नै प्रश्न उब्जाएको छ ।  
 
‘अस्पताल प्रशासनकै गल्ती’ 
नेपाल चिकित्सक संघ चितवनले यस घटनामा गल्ती अस्पताल प्रशासनकै भएको बताएको छ । संघका चितवन अध्यक्ष डा. कृष्णप्रसाद पौडेलले घटना निकै दुखद रहेको बताए । 
 
अस्पतालको संवेदनशील क्षेत्रमा अपरिचित व्यक्ति प्रवेश गरी गर्भवती महिलामाथि यौन दुव्र्यवहार गर्दा समेत सम्बन्धित अस्पतालका प्रशासक तथा ड्यूटी इन्चार्ज बेखबर हुनुले समग्र अस्पतालहरुको लापरबाही छर्लङ्ग भएको अध्यक्ष डा. पौडेलको भनाइ छ ।
 
संघले यस विषयमा आफ्ना सबै सदस्यहरुलाई जानकारी गराएर यो पेसालाई थप मर्यादित बनाउन लागि पर्ने बताए । चितवन अस्पतालमा कार्यरत डा. शशांक सिंहले सबै चिकित्सक, नर्स र अन्य कर्मचारीलाई समेत कामको समयमा परिचयपत्र र पोशाक अनिवार्य गरिनुपर्ने सुझाव दिए । चितवनलाई मेडिकल सिटीका रुपमा परिचय दिँदै गर्दा यस क्षेत्रमा देखिने नराम्रा पक्षहरुको अन्त्य हुनु जरुरी रहेको डा. सिंहको भनाइ छ । 
 
चितवन प्रहरी प्रवक्ता डिएसपी राजन अधिकारीले अस्पताल प्रशासनको लापरबाही देखिएको भन्दै सम्बन्धित अस्पताललाई आपराधिक घटनाका सम्बन्धमा चनाखो रहन सचेत गराइएको बताए । ‘पछिल्ला समयमा धेरै आपराधिक घटनाहरु अस्पतालमा हुने गरेको पाइन्छ, उनले भने, ‘स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा हुने आपराधिक घटना हुन नदिन अस्पताल प्रशासन  जिम्मेवार हुन जरुरी छ ।’
 
अस्पतालको संवेदनशील क्षेत्रमा असम्बन्धित व्यक्ति प्रवेश गरी यौन दुव्र्यवहार गरेको घटनामा आफूहरुको कुनै दोष नरहेको नारायणी सामुदायिक हस्पिटलले जनाएको छ ।