मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

अपराधमा युवतीहरुको संलग्नता बढ्दो

अपराधमा युवतीहरुको संलग्नता बढ्दो


चितवन । प्रहरीका अनुसार पछिल्लो समय जघन्य अपराधदेखि सामान्य अपराधमा महिलाहरुको संलग्नता भेटिन थालेको छ । घटनाक्रमअनुसार अहिले पुरुषहरु पनि महिलाको अपराध शिकार हुन थालेका छन् । प्रहरीबाट प्राप्त सूचनाअनुसार अहिले नेपालले युवती मान्दै आएको १६ देखि ४० वर्षसम्मका महिलाहरु आपराधिक कार्यमा संलग्न भएका छन् । यो उमेर समूहबाहेकका महिलाहरु नगन्य मात्रामा छन् । 
 
कर्तव्य ज्यान, मानव बेचबिखन, लागूऔषध कारोबारलगायतका गम्भीर अपराधमा महिलाको संलग्नता देखिन थालेको छ । जुवातास, मापसे र अन्य सार्वजनिक अपराधमा पनि महिलाको संलग्नता रहेको प्रहरीले जानकारी दिएको छ । 
 
आर्थिक वर्ष २०७१/०७२ मा १ सय ३६ जना महिलाको अपराधमा संलग्नता देखिएको छ । विभिन्न एघार प्रकृतिका घटनामा उनीहरुको संलग्नता भेटिएको छ । 
 
विदेशबाट फर्किएका श्रीमानलाई घरमै डेरा गरी बस्ने युवकको सहयोगमा मारेको आरोपमा भरतपुर–११ की एक महिला अहिले पुर्पक्षका लागि थुनामा छिन् । जेठ १८ गते चितवन प्रहरीले व्यास १ तनहँु बस्ने वर्ष २८ की सहिदा खानलाई लागूऔषधसहित पक्राउ ग¥यो । त्यस्तै असार २९ गते भनपा–११ की २५ वर्षीया सृजना थापा पनि लागूऔषधसहित पक्राउ परिन् । 
 
हाल उनीहरुविरुद्ध मुद्दा दायर भई अनुसन्धान चलिरहेको चितवन प्रहरी प्रवक्ता डिएसपी राजन अधिकारीले जानकारी दिए । त्यतिमात्रै होइन, प्रहरीले ४५ हजार नगदसहित चार महिलालाई तासको खालबाटै उठायो । 
 
हाल चितवन प्रहरीमा ६ जना युवतीविरुद्ध सार्वजनिक अपराध मुद्दा चलिरहेको छ । यस्तो मुद्दा खेप्नेमा १७ वर्षीयादेखि २९ वर्षसम्मका रहेका छन् । केही चितवन जिल्लाकै छन् भने केही चितवन बाहिरका रहेका छन् ।  
 
प्रहरीले आर्थिक वर्ष २०७०/०७१ मा पनि लागूऔषधअन्तर्गत ३ युवतीलाई मुद्दा चलाएको थियो । त्यस्तै मानव बेचबिखनअन्तर्गत ३ जनाविरुद्ध मुद्दा चलाइएको थियो । चोरी घटनामा पनि १ युवती संलग्न रहेको प्रहरीले जनाएको छ । अघिल्लो आवमा सार्वजनिक अपराधअन्तर्गत २५ युवती र हत्या आरोपमा ५ युवती पक्राउ परेका थिए । 
 
सुरक्षाको दृष्टिकोणले आपराधिक कार्यमा महिलाहरुको प्रयोग बढ्दो क्रममा रहेको चितवन प्रहरी प्रमुख एसपी सहकुलबहादुर थापा बताउँछन् । पुरुषको तुलनामा महिलाप्रति प्रहरी कम शंका गर्ने हुनाले अपराधमा संलग्नता देखिएको उनले बताए । 
 
केही वर्ष अघिसम्म दुई/चारजना महिलाहरु आपराधिक कार्यमा संलग्न हुने गरेकामा हाल यो संख्या बढ्दोक्रममा छ । आधुनिकतासँगै भित्रिएको विकृतिले समाजमा आपराधिक घटना बढेको भन्दै यसतर्फ प्रहरी सचेत रहेको प्रवक्ता डिएसपी अधिकारीको भनाइ छ । 
 
मुख्य अपराधीले युवतीहरुलाई प्रयोग गर्ने गरेको उनको भनाइ छ । ‘लोभले लाभ, लाभले बिलाप’ भने झैँ कतिपय युवतीहरु अन्जानमै आपराधिक काममा फसेपछि प्रहरी हिरासतमा बस्न बाध्य छन् ।