मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

जगैबाट भत्काइयो मनकामना मन्दिर

जगैबाट भत्काइयो मनकामना मन्दिर


गोरखा । भूकम्पले जोखिमपूर्ण बनेपछि गोरखाको प्रसिद्ध मनकामना मन्दिर पुनर्निर्माणका लागि जगैबाट भत्काइएको छ । मन्दिर जीर्णोद्वारको काम चलिरहँदा पनि नियमित पूजा भने रोकिने छैन । 
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठको उपस्थितिमा बुधबार धार्मिक विधिअनुसार जग पूजा गरेर पुनर्निर्माण सुरू गरिएको छ । मन्दिर पुरानै स्वरुपमा बनाइने पुरातत्व विभागका अधिकृत दामोदर गौतमले जानकारी दिए । भूकम्पअघि नै मनकामना मन्दिर पूर्वपश्चिम १६ सेन्टिमिटर र उत्तर दक्षिण पनि ५ सेन्टिमिटर भासिएको थियो । गत वैशाख १२ को भूकम्प र त्यसपछिको परनकम्पले मन्दिरलाई थप जोखिमपूर्ण बनाएको थियो ।
मनकामना मन्दिर कहिले बनेको भन्ने यकिन नभए पनि हालको स्वरुपको मन्दिर २०० वर्षभन्दा पहिले नै बनेको प्रमाण भेटिएको स्थानीय बताउँछन् । २०६८ साल चैत २० गते तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मन्दिर जीर्णोद्वारको शुभारम्भ गरेका थिए । तर, आर्थिक अभावलगायतका कारण जीर्णोद्वारको काम अघि बढ्न सकेको थिएन । सरकारले पुरातत्व विभागमार्फत दुई आर्थिक वर्षमा गरेर उपलब्ध गराएको ४ करोडको सुन किनेर लकरमा राखिएको छ ।
मन्दिरको छानोमा लेपन गर्न र गजुर बनाउनका लागि योे परिमाणको सुन उपयोग गरिनेछ । नपुग पैसाका लागि जीर्णोद्वार समितिले ४ वर्षदेखि भक्तजनसँग चन्दा संकलन थालेको थियो । चन्दाबाट मात्रै ५ करोडभन्दा धेरै पैसा संकलन भएको जीर्णोद्वार समितिका सचीव प्रेमकुमार श्रेष्ठले जानकारी दिए ।