मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

स्वामी कमलनयनाचार्यका उत्ताधिकारी कृष्णप्रपन्नाचार्य हिरासतमुक्त

स्वामी कमलनयनाचार्यका उत्ताधिकारी कृष्णप्रपन्नाचार्य हिरासतमुक्त


नवलपरासी । चितवन निकुञ्जको जग्गा अतिक्रमण गरेको आरोपमा समातिएका स्वामी कमलनयनाचार्यका उत्ताधिकारी कृष्णप्रपन्नाचार्य हिरासत मुक्त भएका छन् ।
त्रिवेणीमा रहेका गजेन्द्र मोक्षधामका सहायक उनी मुद्दा दायर हुनुअघि नै हिरासतबाट छुटेर निकुञ्जले तोकेको दिनमा हाजिर हुने गरेका छन् । मन्त्रिपरिषद्ले मनोनयन गरेको सभासद् गीता वाग्लेको जमानीमा उनले यस्तो सुविधा पाएका हुन् ।
‘साउन १ गते हिरासतबाट मुक्त भएका उनी निकुञ्जले तोकेको दिन बुधबार हाजिर भएका छन् । फेरि मुद्दा दायर हुने दिन उपस्थित हुने सर्त छ,’ चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी टिकाराम पौडेलले भने । उनी अरुले पकाएको नखाने र छोएको पानीसमेत नपिउने भएकाले बिरामी पर्न थालेका कारण यस्तो गर्नु परेको पौडेलले जानकारी दिए ।
असार २९ गते समातिएका उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न १५ दिनको म्याद प्राप्त भएको थियो । निकुञ्ज क्षेत्र अतिक्रमण गरेको मुद्दा हेर्ने अधिकारी प्रमुख संरक्षण अधिकृत हुन्छन् । प्रमुख संरक्षण अधिकृतले नै म्याद थप गर्ने, आदेश गर्ने र फैसला गर्ने अधिकार छ । ‘बिरामी नै हुने खतरा बढेपछि छाडेको हो । उनका विरुद्ध मुद्दा त जसरी पनि दायर हुन्छ,’ सूचना अधिकारी पौडेलले भने ।
मुक्तिनाथ बाबाको नामले चिनिने स्वामी कमल नयनाचार्यले त्रिवेणीमा गजेन्द्र मोक्षधाम खडा गरेर भव्य मन्दिर र विद्यापिठ तथा आश्रमहरु बनाउँदै आएका छन् । नियमले नदिने ठाउँमा निर्माण गरे पनि उनलाई हटाउन पहूँचवाला मान्छेहरुका कारणले निकुञ्जले मात्रै नसकेको चितवन राष्ट्रिय निकुञ्जको प्रतिवेदनमा उल्लेख छ ।
धामका मुख्य व्यक्ति नै पक्राउ हुन सक्ने अधिकारीहरुबाट अभिव्यक्ति आए पनि समातिएका सहायकले मुद्दा नचल्नै हिरासत बाहिर रहने सुविधा पाएका छन् । सभासद् वाग्ले पनि स्वामी कमलनयनाचार्यको आश्रमसँग आवद्ध छिन् । गजेन्द्र मोक्षधाममा हुने निर्माणमा सहयोग जुटाउन वाग्ले पनि सक्रिय हुने गरेकी छन् । उनका भाई गुणचन्द्र विष्टले समेत निर्माणमा सघाएका छन् ।
निकुञ्ज क्षेत्र अतिक्रमण गरेका १० हजार रूपैयाँ जरिवाना वा दुई वर्ष कैद वा कैद र जरिवाना दुबै हुने कानुनी व्यवस्था रहेको सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी टिकाराम पौडेलले जानकारी दिए । दुई वर्षभन्दा कम सजाय हुने मुद्दामा पुर्पुक्षका लागि प्रारम्भिक आदेश गर्दा कारागारमा बस्न अनिवार्य छैन । व्यक्ति समातिएको २५ दिनभित्र अनुसन्धान पूरा गरेर मुद्दा दायर गर्नुपर्ने कानुनी व्यवस्था छ ।
 
निकुञ्ज टोली त्रिवेणीमा
स्वामी कमलनयनाचार्यका उत्तराधिकारी कृष्ण प्रपन्नाचार्यलाई रिहाइ गरेलगत्तै चितवन राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टरको टोली त्रिवेणीका स्थानीयको राय बुझ्न बुधबार त्रिवेणी आएको छ । चितवन राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टरका सहायक वार्डेन नुरेन्द्र ओलीको नेतृत्वमा ३ सदस्य टोली त्रिवेणी आएको हो टोलीसँग त्रिवेणीका कुनै पनि व्यक्तिहरुले राय दिन नमानेको टोलीले जनाएको छ ।
सहायक वार्डेन नुरेन्द्रले आफूमाथिको आदेशअनुसार त्रिवेणी आएको बताए ।
त्रिवेणीका स्थानियले स्वामी कृष्ण प्रपन्नाचार्यलाई अपहरणका शैलीमा लगिएका कारण निकुञ्जका कुनै पनि कार्यक्रममा सहभागि नहुने र सहयोग पनि नगर्ने बताएका छन् ।
चितवन राष्ट्रिय निकुञ्ज कसाराबाट आएको निकुञ्जका कर्मचारीले कृष्ण प्रपन्नाचार्यलाई बर्दघाटबाट त्रिवेणी जाँदै गरेको बेला प्रतापपुर–४ स्थित ठूलो नहरको पुल नजिकबाट नियन्त्रणमा लिएको थियोे ।